ओलीलाई माधव नेपालको सन्देश- व्यक्तिगत तिक्तता हल गर्न तयार छु

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता एवम् सचिवालय सदस्य माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूबीच चुलिएको व्यक्तिगत तिक्तता हल गर्न तयार रहेको सन्देश पठाएका छन्।

बिहीबार राति नेपाललाई भेट्न पुगेका नेकपाका केन्द्रीय सदस्य वंशीधर मिश्रमार्फत् नेपालले यस्तो सन्देश पठाएका हुन्। मिश्रसँग नेपालले गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘असहमतिका बीचमा सहमति खोज्ने पार्टीको विधि र प्रक्रिया हो, म त्यसमा अडिग छु। यति हुँदाहुँदै पनि ओलीजीसँग व्यक्तिगत रूपमा जुनखालको तिक्ततापूर्ण वातावरण बन्यो, त्यसका लागि म दु:खी छु। यो व्यक्तिगत टकराव छिट्टै हल हुनपर्छ।’ मिश्रसँगको कुराकानीमा नेता नेपालले प्रधानमन्त्रीप्रति आफूले दुर्भावना नराखेको पनि बताएका थिए। ओलीसँगको व्यक्तिगत सम्बन्धमा दरार नआओस् भन्ने चाहेको र सौहार्दपूर्ण तरिकाले समस्याको हल गर्न तयार रहेको सन्देश नेपालले मिश्रमार्फत प्रधानमन्त्रीलाई पठाएका छन्।

मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत् यो सन्देश प्रधानमन्त्रीलाई पठाइसकेका छन्। ‘माधव नेपालको सन्देश प्रधानमन्त्रीलाई पठाइसकिएको छ, उहाँ सिंगापुरबाट फर्किदासम्म सम्भवतः उहाँहरूबीचको सम्बन्ध सुमधुर बन्दै जानेछ,’ बालुवाटार स्रोतले सेतोपाटीसँग भन्यो। नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच व्यक्तिगत स्तरमै ओर्लिएर बाझाबाझ भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली लामो उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बसेको नेकपा सचिवालयको अन्तिम बैठक नमीठोगरी टुंगिएको छ।

पछिल्लो समय स्पष्ट दुई कित्तामा उभिएका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच लामो चर्काचर्की भएपछि झण्डै ४५ मिनेट लामो बैठक तिक्ततापुर्ण वातावरणमा सकियो। बैठकको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आफू आजै सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिन सक्ने बताएका थिए। तर त्यसको लागि आफूसँग सहमति लिनुपर्ने प्रस्ताव उनले गरेका थिए। प्रधानमन्त्रीको सो प्रस्तावको सचिवालय सदस्य माधवकुमार नेपालले प्रतिवाद गरेपछि दुई नेताबीच चर्काचर्की नै भएको थियो। ‘प्रधानमन्त्रीजीले मेरो सहमतिबिना कुनै पनि निर्णय हुन सक्दैन भन्नुभयो। मैले मेरो असहमतिमा पार्टी निर्णय हुन्छ भने तपाईंको असहमतिमा पनि हुन सक्छ, तपाईंको आफ्नो भोट छ, मेरो आफ्नो भोट छ भनेँ’ नेपालको भनाई उदृत गर्दै उनी निकट नेताले सेतोपाटीसँग भने।

एकजना असहमत रहेपनि निर्णय गर्न सक्ने पद्धतिमा पार्टी गइसकेका कारण अब अध्यक्षकै फरक मत भएपनि निर्णय हुने नेता नेपालले बताएका थिए।त्यसपछि प्रधानमन्त्री ओलीले ‘पार्टीको अध्यक्ष तपाईं कि म?’ भनेर नेपाललाई सोधेका थिए। ‘प्रधानमन्त्रीको यो सोधाई रुखो थियो’ पूर्व माओवादी निकट एक सचिवालय सदस्यले भने। नेपाल निकट स्रोतका अनुसार जवाफमा उनले भने, ‘पार्टीको अध्यक्ष भएता पनि ‘यु आर फष्ट एमङ इक्वलस’ मात्र हो र यो हाम्रो पार्टीको सिद्धान्त पनि हो।’ नेपाल र ओलीको अर्को विषयमा पनि गलफत्ती भएको थियो। नेपालले हालसालै प्रेस संगठनको ईन्चार्जमा नियुक्त भएका नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतमले आफ्ना विरुद्ध जथाभावी बोल्दै हिँडेको भन्दै गौतमका बिरुद्ध आफू बोल्न पाउने कि नपाउने भनेर सोधेका थिए।

नेपालको यो प्रश्नमा ओलीको जवाफ थियो ‘तपाईंले पनि त बुधबार साप्ताहिकमा मेरा विरुद्ध अन्टसन्ट लेखाउनुभएको छ।’ त्यसपछि सचिवालयका बाँकी सदस्यहरुले अब अरु विवाद नगर्न आग्रह गरेपछि बैठक केही शान्त भयो । नेपालले विवादको बीट मार्दै प्रधानमन्त्रीलाई भने, ‘तपाईं जाँदै हुनुहुन्छ तपाईंलाई स्वास्थ्य लाभको कामना छ।’ ओलीले तत्काल जवाफ फर्काए, ‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ, स्वास्थ्यलाभको कामना गर्नुपर्दैन।’ नेपालले उनी निकट नेताहरुसँग आफूले शुभकामना दिँदा पनि प्रधानमन्त्रीले चाहिँदैन भनेपछि ‘तपाईं यति निकृष्ट र आपराधिक ढंगले पनि सोच्नुहुन्छ?’ भनेर प्रश्न सोधेको बताएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सो भनाईंमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आपत्ती जनाएका थिए। उनीहरुले स्वास्थ्य लाभको कामना गर्दा पनि चाहिँदैन भन्न हुँदैन भनेर प्रधानमन्त्रीलाई सम्झाएका थिए। सचिवालयमा ओली निकट नेताहरुले भने यसलाई फरक ढंगले प्रस्तुत गरे। उनीहरुका अनुसार महासचिव विष्णु पौडेलले ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै बैठकको माइनुट गरौँ भनेपछि माधव नेपालले अस्वीकार गरेका थिए

यद्यपी नेकपाको आजको बैठकले प्रधामन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै माइनुट गरेको थियो।सेताेपाटी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close