ओलीले कार्यकर्तालाई दिए ‘फाउन्डेसन’मा लाग्न निर्देशन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु पार्टीभित्र देखिएको अन्तरविरोधको सामूहिक निकास खोज्न छाडेर आफूपक्षीय भेला गर्दै निर्देशन दिन थालेका छन् । यसको अगुवाइ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली आफैले गरेका छन् । सोहीअुनसार अध्यक्ष ओली र सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूनिकट नेताहरुलाई जुम मिटिङमार्फत थाँती रहेकोे ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई व्युँत्याउन निर्देशन दिएका हुन् ।

जबकि पार्टी एकता घोषणा गर्दा आगामी महाधिवेशनसम्म जनताको जनवाद र एक्काइसौँ शताब्दीको जनवाद दुवै थाँती राख्दै जनताको जनवादलाई कार्यक्रम बनाउने सहमति भएको थियो । तर पछिल्लो समय नेकपाको संस्थापन पक्षले जबजलाई नै जोड दिँदै एकपक्षीय ढङ्गले विचारको बहस अघि बढाउने प्रयत्न गरेपछि नेकपामा ओली प्रवृत्तिको विरोध हुँदै आएको छ । बुधबारको जुम मिटिङमा अध्यक्ष ओलीले पार्टीमा देखिएको समस्या विचार र सिद्धान्तको नभएर कुर्सीको झगडा भएको पनि प्रस्ट पारेका थिए । ‘पार्टी सिद्धान्त, नीति र विचारले चल्ने हो । अहिले पार्टीमा देखिएको समस्या विचार, सिद्धान्त र नीतिका लागि होइन । यो विल्कुल कुर्सीको हो । त्यसैले मदन भण्डारीले प्रतिपादन गेरेको जबज अहिले सकिएको नठान्नुस् । महाधिवेशनसम्म जाँदा यसैलाई आधार बनाएर जानुुस्’ प्रधानमन्त्री समेत रहेका ओलीको निर्देशन थियो ।

सहभागी एक नेताका अनुसार त्यसक्रममा ओलीले जबजलाई अघि बढाउन मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्मै विस्तार गर्न निर्देशन पनि दिएका हुन् । नेकपाभित्र मदन भण्डारी फाउन्डेसन पार्टीको समानान्तर कमिटी जस्तै भएको भन्दै चर्को विरोध भइरहेका बेला ओलीले फाउन्डेसनलाई जबज अघि बढाउने माध्यमका रूपमा प्रयोग गर्न भनेका हुन् । यसअघि सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले नेताका नामका संस्थाहरु कार्यविधि बनाएर मात्रै सञ्चालन गुर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यस्ता संस्था पार्टीका समानान्तर निकाय जस्तै बन्दा पार्टीमा गुटबन्दी मौलाएको निष्कर्ष निकालेको थियो । त्यस्तै गत भदौ २६ गते सम्पन्न स्थायी समितिको बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि प्रतिष्ठान र फाउन्डेसनका कारण पार्टीमा गुट झाँगिएकाले रोक्नुपर्ने उल्लेख छ । नेकपाका स्वर्गीय नेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनको अधिकांश फन्ड (लगानी) भारतमार्फत जुट्ने गरेको छ । फाउन्डेसनका नामबाट शिक्षा, स्वास्थ्य र खेलकुद लगायतका गतिविधि हुँदै आएका छन् ।

ओखलढुङ्गाका नेकपाका नेता तथा केन्द्रीय सदस्य किशोर अधिकारीले जुम मिटिङमा प्रधानमन्त्री ओलीले पार्टीको पछिल्लो अवस्थाबारेमा सामान्य जानकारी दिएको बताए । उनका अनुसार भदौ २६ गते भएको सहमतिको मसी सुक्न नपाउँदै भदौै २७ बाटै त्यसको फेर काट्ने काम भएकोमा ओलीले असन्तुष्टि जनाएका थिए । सचिवालय सदस्य पोखरेलले विचारमा प्रस्टता ल्याउन पनि जबजको विकल्प नभएकाले त्यसैलाई मार्गनिर्देशक सिद्धान्त बनाउनपर्नेमा जोड दिएका थिए । नेकपाका एक स्थायी समिति सदस्यले ओलीले दिएको यस्तो निर्देशनले पार्टीमा थप गुटबन्दी मौलाउने भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्नुपर्ने बताए । ‘पार्टीमा अन्तरद्वन्द्व देखिएका बेला एउटा अध्यक्षले जबज अघि बढाउन निर्देशन दिनु भनेको गुटलाई प्रश्रय दिनु नै हो । यसले राम्रो गर्दैन, पार्टी एकताको भावना पनि यो होइन’, ती सदस्यको भनाइ छ । नेकपा केन्द्रीय सदस्य देवी खड्का प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीका गतिविधिले स्थितिलाई सहज बनाउनेभन्दा पनि असहजता निम्त्याउने किसिमका हुन थालेकोमा आफूलाई आश्चार्य लागेको बताउँछिन् ।

‘पूर्व समूहहरुको नाममा पार्टीलाई दुई फ्याक बनाउने कोसिस छ उहाँहरुको । त्यसलाई पूरा गर्न भावनात्मक रूपमा जबज लगायतका कुरा बेला न कुबेला निकालेको हुनसक्छ’, पूर्व माओवादी केन्द्र पृष्ठभूमि भएकी खड्का भन्छिन्, ‘लेनिनकालीन समाजवादी मोडलसमेत नयाँ हुनुपर्छ भनेर बहस भइरहेका बेला जबज त्यति धेरै ठूलो र अकाट्य सार्वभौम सिद्धान्त नभएर एउटा कार्यक्रम थियो ।’ उनले ऊ बेलाको त्यो कार्यक्रमले अहिलेको यो भयाभह स्थितिमा आन्तरिक र बाह्य हिसाबले पनि वैचारिक इमानदारिता हुन नसक्ने बताइन् । ‘भावनात्मक हिसाबले खेल्ने वा तिकडमबाजी गर्ने र पुराना टिमहरुलाई नैतिक सङ्कट पार्ने कपटपूर्ण जाल हो भनेर बुझ्न सकिन्छ’, खड्काको भनाइ छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close