ट्विटरमा ‘भ्वाइस ट्विट’ फिचर, अब बोलेरै ट्विट गर्न सकिने

माइक्रो ब्लगिङ साइट ट्विटरसँग प्रायः प्रयोगकर्ताहरुको गुनासो नै यो हुन्छ कि उक्त प्लाटर्फममा आफ्ना विचार तथा भावनाहरु व्यक्त गर्नका लागि केही सीमाहरु छन् ।

त्यसमध्ये सबैभन्दा ठूलो अड्नच अक्षरहरुको सीमा हो । कहिलेकाहीँ २८० अक्षरको सीमाले निकै समस्या पार्दछन् र आफ्ना कुराहरु टुक्राटुक्रामा ट्विट गर्नुपर्ने बाध्यता हुन्छ । अक्षरको सीमाकै कारण आफूले व्यक्त गर्न चाहेको कुरा सही शब्दमा बयान गर्न नपाएको गुनासो पनि प्रयोगकर्ताको रहने गर्दछ । तर ट्विटर प्रयोगकर्ताहरुले यस्तो खालको गुनासो गर्नु नपर्ने अवस्थाको सिर्जना हुँदैछ । किनकि प्रयोगकर्ताका यी सबै गुनासोहरुलाई मध्यनजर गर्दै ट्विटरले एक नयाँ फिचर लञ्च गरेको छ ।

हाल परीक्षणको रुपमा जारी गरिएको यस नयाँ फिचरको प्रयोग गरी प्रयोगकर्ताले कुनै अक्षर टाइप नगरी आफ्नो सन्देश ट्विट गर्न सक्नेछन् । अर्थात् ट्विटरले जारी गरेको भ्वाइस फिचरसँगै अब ट्विटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् । यो सँगै ट्विटर प्रयोगकर्ताहरुलाई अक्षरहरु टाइप गर्ने तथा अक्षरको सीमाभित्र बाँधिने झण्झट हट्नेछ र प्रयोगकर्ताहरुले आफ्ना मनका विचार तथा भावनाहरुलाई आवाजमै ट्विट गर्न पाउनेछन् ।

भ्वाइस ट्विटका लागि प्रयोगकर्ताले अधिकतम १४० सेकेण्डसम्मको अडियो रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् । यदि १४० सेकेण्डमा पनि मनको कुरा सकिएन भने थ्रेडका रुपमा अर्को नयाँ भ्वाइस ट्विट आफैं बन्नेछ । आफ्नो ट्विट गर्नुपर्ने आवाजको रेकर्डिङ सकिएसँगै रेकर्ड अन्त्य गर्ने बटन ट्याप गर्नुपर्दछ र त्यसपछि कम्पोजर स्कृनमा गई त्यसलाई ट्विट गर्न सकिन्छ । उक्त भ्वाइस ट्विट पनि अन्य शाब्दिकट्विट जस्तै प्रयोगकर्ताको टाइमलाइन देखिनेछ ।

ट्विटरका अनुसार अहिले यो फिचर परीक्षणका रुपमा लञ्च गरिएको हो र केवल केही एप्पल प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ । तथापि आगामी केही हप्तामै ट्विटरको यो फिचर सबै आइओएस प्रयोगकर्ताले प्रयोग गर्न पाउने ट्विटरले जनाएको छ । एन्ड्रोइड फोनमा भ्वाइस ट्विट सुविधा कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा चाहिँ ट्विटरले कुनै जानकारी दिएको छैन । बीबीसी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close