प्रधानमन्त्रीले एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमति खोजे

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् ।

शनिबार आफैंले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता रोकेको भन्दै सभामुखप्रति आक्रोश पोखेका छन् । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलहरुको साझा धारणा रह्यो ।’ केही दलले एमसीसी सम्झौताको आलोचना गरेपनि संसदले विजनेस रोक्न नमिल्ने भनेको भन्दै एमाले नेतासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भन्ने भएको छ ।’

सरकारका कारण नभई संसदको नेतृत्वका कारण महत्वपूर्ण विषय अड्किएको सरकारको दाबी छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधान विपरित पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उनले भने, ‘सरकारका कारण होइन, संसदको नेतृत्वका कारण कतिपय विजनेस अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close