‘मगर संघ’ सँग मेरो आबद्धता – शुकबहादुर राेका “शरद”

दिपेश श्रेष्ठ, काठमाडौ । फाल्गुन,१६

२०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहको वाछिटोले हामीलाई नि भेटायो । २०३८ सालमा थवाङ्गी कम्युनिष्टहरु माथिको पञ्चायती अप्रेशन र हाम्रो अगुवा विद्यार्थी र मास्टर (शिक्षक) हरुमाथिको धरपकडको प्रत्यक्ष प्रभाव र थवाङ्ग स्कूलको पढाईले म कट्टर कम्युनिष्ट भइसकेको थिए । कम्युनिष्ट भइसकेकोले जातिय बिभेद भन्दा बर्ग बिभेद मूल हो र बर्गसंघर्ष मूल हो, अरु सहायक हुन् भन्ने मेरो बुझाई थियो । त्यसैले जातिय संगठनमा खासै मेरो चासो थिएन ।

दाङको पढाई र वातावरण

बस्तुगत अवस्थाले चेतनाको निर्धारण गर्दछ । जब थवाङ्ग स्कूलबाट २०४१ सालमा पढन दाङ झरेर पद्मोदय स्कूल भरतपुरमा म कक्षा ९ मा भर्ना हुन आए, मेरो आत्मसम्मानमा गहिरो चोट पर्‍यो । त्यसताका रोल्पाली मगरहरुलाई दाङतिर ‘शेशी’ भनेर हेपिदो रहेछ । शेशखाल भन्नाले रोल्पाको माडीखोला भेकलाई बुझाउँछ । कुनै काल खण्डमा खाम क्षेत्र तीन खण्डले चिनिन्थ्यो ।

१. काला शेश (माडी खोला जो रोल्पा जिल्ला नबन्दै प्यूठान जिल्लामा पर्ने भाग)
२. २२ खुवा (लुंग्रीखोला क्षेत्र)
३. ४ हजार पर्वत (जलजला पहाड पेरिफेरि देखि धौलागिरी पश्चिम रेन्ज अहिलेको पूर्वी रुकुमको मुल भाग)

‘शेशी’ शब्द डाँरा (गाई) खाने, भांग्रा ओड्ने, खान नपाएका, पाखे, बुद्धि नभएका गवार भन्ने आशयको रुपमा प्रयोग हुँदो रहेछ । एकातिर ‘खाम’ बोल्ने मगर, अर्काेतिर रोल्पाली लवज, नेपाली बोले पनि लवज नमिल्ने अनि उडाई माग्ने हुन्थ्यो । मेरो स्कूलमा मैले ६ महिनासम्म एकाध रोल्पाली बाहेक कोही साथी पाईन, किनकी म ‘शेशी’ न थिए ।

आषाढमा अर्धबार्षिक परिक्षा भयो, अरु बिषयका अलावा जम्मा ४० पूर्णांकको ऐच्छिक गणितमा मैले ३८ नम्बर ल्याएपछि बल्ल म सम्मिलित भए किनकी परीक्षाको नतिजाले मलाई अब्बल बिद्यार्थीको दर्जा दियो । सायद ममा कम्युनिष्ट चेतना नहुँदो हो त आफूलाई रोल्पाली खाम मगर परिवारमा जन्मिनु नै दूर्भाग्य ठान्थें होला, तर मान्छेले मान्छे माथि कसरी बिभेद गर्छ, सत्ताले खडा गरेको बिभेदका स्वरुपहरु कस्तो कस्तो हुन्छन् भन्ने मलाई नयाँ अनुभूती भयो ।

रोल्पामा वाल मतलव नभएको दुई कुराहरु, एक आफू मगर हूँ भन्ने महशुस गरेको थिईन किनकि मेरो गाउँमा केही दलित बाहेक अरु जातका कोही थिएनन् । दोश्रो रोल्पा जिल्लालाई नामको अर्थमा मात्र बुझेको थिए तर यसमा बोली, लवज, जातियता संस्कार–संस्कृती, भेषभूषा इत्यादि जोडिएको भावना हुँदो रहेछ ।

नेपाल लांघाली संघको राष्ट्रिय अधिबेशन

२०४४ सालमा दाङ घोराहीको भरतपुरमा रहेको भूपु एसपी श्री रामशरण थापा ज्यूको निवासमा नेपाल लांघाली संघको राष्ट्रिय अधिवेशनमा खड्ग बहादुर बुढा (मामा) को करबलले म अधिबेशनको स्वयम्सेवकको रुपमा पुगे । त्यसबेला भर्खर मेरो एसएलसीपछिको पढाई शुरु भएको थियो । अधिबेशनमा तत्कालिन लांघाली संघका अध्यक्ष क्याप्टेन हेम बहादुर पुन, एमएस थापा, गोरे बहादुर खपाङ्गी र बिशेषतः महासचिव सुरेश आलेलाई चिन्न पाए ।

पञ्चायतकालमा संघ संगठन खोल्ने र चलाउने अनुमति थिएन । त्यसै भएर एसपी साबको घरमा स्थान चयन भएको होला । अधिबेशनका कुरा अरुले के कति र कसरी बुझेँ मलाई थाहा भएन, तर मैले सबै कुरा राम्रोसँग सुने । गोरे बहादुरको तिखो ब्राह्मणवाद बिरोधी मन्तब्य र एमएस थापाका शास्त्रीय तर्कहरु सुने बुझेँ, सायद बिचारको सामिप्य भएर होला उद्घोषण गरी रहेका सुरेश आलेको लजिक मलाई सुहाउँदो लाग्यो ।

उनको लजिकमा जातिय समस्या पनि एक बर्गीय उत्पिडन हो भन्ने गहिरो गरी बुझेँ । पञ्चायतकालमा प्रष्ट बोल्न मिल्ने कुरै भएन, तर लजिक स्पष्ट थियो । ब्राह्मणवादको संरक्षण गर्ने र पञ्चायतका नाममा रजाई गर्ने राजाहरुलाई उनीहरुका कुल गोत्र मगर थिए भन्ने उरन्ठ्याउलो तर्क गरी चाकडी बजाउने र बाहुनलाई तथानाम गाली गर्नेहरुले यो लजिक बुझ्ने वा अर्थ्याउने कुरै भएन । बर्गीय उत्पिडनका बिरुद्धको संघर्षसँग जातिय उत्पिडनको मुद्दालाई जोड्नुपर्ने महशुस मलाई भयो र जातिय सवाललाई बर्ग चेतनामा उठाउनु पर्ने महशुस गरे ।

सुरेश आलेको तर्कमा बर्गीय लजिक र राजनैतिक स्वछन्दता झल्किन्थ्यो । वहाँको अध्ययन देहरादूनमा भएको र बैचारिक रुपले रेडिकन कम्यूनिष्ट भएको पछि मात्र थाहा पाए । बस्तुले चेतना निर्धारण गर्छ त्यसै भएर रहेछ त्यसबेला सुरेश आलेको बैचारिक उचाई अरुको भन्दा धेरै माथि लाग्यो । समाजलाई पढ्ने आ–आफ्नै कोण र धार हुन्छन् । गोरे बहादुर खपाङ्गीकै तर्क सापटी लिँदा ‘एउटै झ्यालबाट दुई मान्छेले हेर्दा एउटाले हरियाली बनपाखा, नानाथरीका फूलहरुको सुन्दरता अनि मनमोहक दृष्य देख्छ भने अर्काले त्यहीँ झ्यालबाट हेर्दा च्याट्ट लिपेको ठाउँमा कुखुराले प्याच्च सुली फेरेको देखिन्छ ।’

त्यसबेला लांघाली संघ बिशुद्ध सामाजिक संगठनको रुपमा काम गर्थ्यो । लांघाली संघ, पछि नेपाल मगर संघ भयो, बहुदलको आगमनसँगै राजनीति बारे छलफलमा यो ‘बिशुद्ध सामाजिक संगठन’ हो र यसमा राजनीति छिराउनु हुन्न, सबै मगरहरुको साझा सामाजिक संगठन बनाइनु पर्छ भन्ने मान्यता रह्यो ।

पञ्चायतकालमा दुई भिन्न आसय लांघाली संघमा थियो, एक पञ्चायती कालरात्री (संघ संगठन माथि प्रतिबन्ध) का बेला सामाजिक संगठन मार्फत जातिय उत्पिडन बिरुद्धको जागरण, दोश्रो जातिय जागरणको नाममा ब्यक्तित्व उठाउने, जातियताको जगमा राजासँग पद प्रतिष्ठाको आशयले जातको उपयोग गर्ने । यस आधारमा हेर्दा पञ्चायतकालमा पनि आसयगत हिसाबले लांघाली वा मगर संघमा राजनीति चल्यो ।

२०४६ पछि त कुरै अर्कै भयो । जे होस् जसको जे–जे बुझाईमा पहल भए पनि मगर संघ जन्मियो, हुर्कियो, झाँगियो । जे होस् ममा मगर जागरण यसै अधिवेशनले जगायो । जातिय उत्पिडन पनि बिशेष खालको बर्गीय उत्पिडन हो भन्ने बुझेपछि त्यसमा लागि पर्नु स्वभाविक थियो, त्यही गरें । अपमान र उत्पिडन सहनेहरु भावनात्मक रुपमा एक ठाउँ आउनु पर्थ्यो ठिक त्यही बेला लांघाली संघको अधिबेशन हुनुले मलाई नयाँ उर्जा मिल्यो ।

दाङको लांघाली संघलाई समुदायमा

लांघाली संघको अधिबेशन पछि मैले संघको गतिविधिमा बिशेष चासो राखे । एक दिन जिल्लाको बैठक बोलाइयो, म पनि गए । बैठक उही एसपी मामाको घरमा राखिएको रहेछ, हाम्रै छिमेकी क्याप्टेन शोभाराम पुन, बड्हराका घुस्बाङ्गे सुबेदार अमरसिंह, टुरन्टपुरका क्याप्टेन मैत बहादुर पुन, हाम्रा मामा खड्ग बुढा र काका लाल बहादुर रोका लगायत ९/१० जना घोराहीका बुढाबुढाहरुको बीचमा म मात्र केटा (युवा) उपस्थित भए । लांघाली संघको नाम मात्रको जिल्ला समिति रहेछ ।

म लगायत समितिमा नभएकाहरु पनि उपस्थित थियौं भने समितिमा भएकाहरु सबै आएको देखिएन । बैठक प्राय शनिबार राख्ने चलन रहेछ । लांघाली संघको बैठक फगत बुढाहरुको गफ गर्ने भेला जस्तो मात्र रहेछ भन्ने अनुभूती मलाई भयो । गफ कडा थियो(भक्ती थापा मगरै हुन, अमरसिंह थापा मगरै हुन, भीमसेन थापा मगरै हुन, सबै बाहुनले बिगारेको आदि इत्यादि ।

बुढाहरुको बीचमा म त ट्वा परेर हेरी रहे, सुनिरहे । मलाई लाग्यो कि यो गफले मात्रै पुग्दैन, तसर्थ म नि आफ्नो कुरा राख्ने अनुमति एसपी मामासँग मागे, किनकी वहाँ कै घर अनि वहाँ नै लांघाली संघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । कुरा राख्ने अनुमति पाएपछि ‘इतिहासमा हामी के कति र कसरी ठगिएका रहेछौं कुरा (खोज अनुसन्धान) गर्दै जाउँला तर अहिले हामीले के गर्दैछौं र के गर्ने भन्ने त रेकर्ड राखिनु पर्‍यो अन्यथा सानै भए नी हामीले गरेको कामकुराको पनि रेकर्ड नरहने भयो नि ।’ भनेपछि एसपी मामाले ‘ल के गर्ने त भन भान्जा’ भने ।

खासमा मामा साइनो लाग्ने भएर होइन लाहुरे चलन हो । त्यहाँ साइनोमा बोल्ने र बोलाइ माग्ने म मात्र थिए, किनकी मै मात्र सानो थिए । अरु त कोही एसपी साब, कोही सुबेदार साब, कोही क्याप्टेन साब, कोही जमदार हवल्दार साब पल्टनमा पाएको पद नै साइनो !
‘रेकर्डका लागि माइन्यूट गरौं यसले बैठकमा उपस्थिति को कसको भयो र के के निर्णय गर्‍यो, निर्णय अनुसार के–के भयो भएन भन्ने हुन्छ ।’ भन्ने बितिक्कै एसपी मामाले आफ्नो एउटा नयाँ रजिष्टार लिएर भाका मिलाएर उपस्थिति उठाउने गर्नु भयो ।

एसपी मामा मामुली पुलिस थिएनन्, २००७ सालको मुक्ति सेनाबाट आएका रहेछन् । त्यसैले होला माइन्युट उठाउन उनलाई खासै अप्ठ्यारो भएन । उपस्थिति उठाएपछि ‘ल निर्णय के गर्ने त भान्जा’ भनेर एसपी मामाले सोध्नुभयो तब ‘अहिले धेरै केही निर्णय नगरौं मामा, आ–आफ्नो टोलमा गएर टोल समिति खोल्ने र अर्काे बैठकमा घोराहीका मात्र होइन तुल्सीपुर, भालुबाङ्ग लगायतका मगरहरु पनि बोलाऔं ।’ भने अनि त्यही निर्णय गर्‍यौं । मसँग भूमिगत संगठन संचालनको अनुभव थियो । यसको गहिरो अर्थ बुढाहरुले बुझेनन् बैठक सकियो ।

नेपाल लांघाली संघको लोहासुर टोल समिति

बैठकपछि अर्काे दिन टोलमा भएको मगर भरी बोलायौं । त्यसबेला कति न थियौं र ? लोहासुर आसपासमा जम्मा ५/७ घर थियौं । टोल भेलाले क्याप्टेन शोभाराम पुनको अध्यक्षतामा टोल समिति बनायौं । उपाध्यक्षमा हवल्दार खड्ग बुढा (मामा), सचिवमा म आफैँ र कोषाध्यक्षमा लाल बहादुर रोका (काका) अनि सदस्यमा पूर्ण बहादुर रोका, र सार्जन्ट चन्द्र बहादुर बुढा भयौं । पदाधिकारीको नामाकरण मै क्याप्टेन मैत बहादुर पुन मामा अल्मलिए ‘हैन भान्जा यो अध्यक्ष, उपाध्यक्ष र सचिव त भयो, कोषाध्यक्ष भन्या के हो नि ?’

समितिमा कोषाध्यक्षको कामबारे खुलाएर भनेपछि उनले तत्काल पाँच सय रुपैंयाँ तु निकालेर ‘ल भान्जा यो मेरो तर्फबाट’ भन्दै कोषमा दाखिला गरे । टोलका समस्याहरुबारे छलफल भए, टोल समितिमा जम्मा रु ५,५००।– को कोष खडा भयो । दाङ जिल्लामा नेपाल लांघाली संघको पहिलो टोल समिति यसरी बनाइयो ।

लांघाली संघको त्यो भिन्न बैठक

फेरी पनि लांघाली संघको जिल्ला बैठक एसपी मामाकै घरमा हुने भयो । नजिकको तिर्थ हेला भन्छन् त्यसै भएर होला हामी त्यहाँ पुग्नु अगाडि नै सबै ठाउँबाट प्रतिनिधिहरु आइसकेको रहेछन् । यस पटक एसपी मामाले धेरै ठाउँका मगर प्रतिनिधि बोलाउनु भएको रहेछ । तुल्सीपुर, भालुबाङ्ग, लालमटिया, रिहार, खाद्रे लगायतबाट नयाँ उपस्थिति देखियो ।

हामी एसपी मामाको घरको गेट पुग्दै थियौं, एसपी मामाले बरन्डाबाटै स्वागत गर्नु भयो । हाम्रो अगुवा पनि, टोल समितिको अध्यक्ष पनि शोभाराम पुन (क्याप्टेन मामा) नै, वहाँ नै अघिअघि हुनुहुन्थ्यो । गेट पस्दै गर्दा एसपी मामालाई नमस्कार गर्दै घरको ढोका पुग्दासम्म ‘भान्जाले भने’ भन्दै हामीले गरेको कामको रिपोर्ट गरी भ्याइसक्नु भयो । बैठक कक्षामा पस्दै गर्दा दुई वटा नयाँ घटना देखियो ।

पहिलो घोराही बाहेकबाट मगरहरुको उपस्थिति, दोश्रो परम्परागत छलफलको अन्त्य किनकि सबको ध्यान क्याप्टेन मामाको रिपोर्टले तान्यो । बैठक कक्षमा सबैको चासो भएकोले गरेको काम र यसको मर्मबारे मैले कुरा गरे । त्यही बैठक संगठन (टोल समिति) बिस्तारको पहिलो कडी बन्यो, संगठन बिस्तारको तालिम जस्तो बन्यो ।

हामी अर्काे बैठकमा जुट्दा खाद्रेमा २५,०००।– कोष सहितको टोल समिति, लालमटियामा १७,५००।– कोष सहितको टोल समिति, रिहार–भालुबाङ्ग–तुल्सीपुर लगायतमा आ–आफ्नै गच्छे अनुसारको कोष सहित टोल समितिहरु गठन भएको रिपोर्टले सबै खुब उत्साहित भयौं । यही बैठकमा एसपी मामाले मलाई जिल्ला समितिमा मनोनित गरेको घोषणा गर्नुभयो ।

त्यसताका दाङ र देउखुरी उपत्यकामा मगरहरुको साह्रै पातलो बसाई थियो, त्यसै माथि बोलीभाषा माथिको खिसीटिउरी, साँस्कृतिक रुपमा हेलाहोचो, शेशी लेंडा जस्ता अपगाल, यी यस्तै सामाजिक ठक्कर वा टकरावले होला यहाँका मगरहरु तिब्र गतिले संगठित भए जो सघन मगर बस्तीहरमा सम्भव देखिएन ।

युवाहरुमा जागरण

दाङको मुख्य बजार घोराही थियो, सामन्त जमिन्दार बाहेक (गुण्डागर्दी) घोराही मै चल्थ्यो । घोराहीमा नेवार र जोगीहरुको हालीमुहाली चल्थ्यो । नेवारहरु पञ्चायती पक्षधर थिए, नेवार युवाहरु पञ्चायतको बिद्यार्थी संगठन ‘नेपाल बिद्यार्थी मण्डल’तिर बढी आबद्ध थिए । जोगी (योगी,गिरी,पुरी,भारती)हरु काँग्रेस रुझानका थिए र उनीहरुतिरका युवाहरु कांग्रेसको बिद्यार्थी संगठन ‘नेपाल बिद्यार्थी संघ’मा संगठित थिए ।

बजारमा पनि यी दुवै पक्षको हावी हुन्छ उसैको राईदाई चल्थ्यो । तथ्यहरुले के बताउँथ्यो भने जसले घोराही वरपरका मगर केटाहरुलाई आफ्नो बनाउन सक्यो, उनीहरु नै हाबी हुने र रजदज उनीहरु कै चलेको देखियो । मगर केटाहरुमा बुद्धी कम मुर्ख्याई बढी थियो ।

लाहुरेका छोरा वा तिनका साथ लाग्नेहरुमा अलिक आवारा गर्दी बढी थियो । हामी उनीहरुसँग पिकनिक वा अरु बहानामा नजिकीदै गयौं र उनीहरुलाई बिस्तारै साथ र साथी बनाइ एक मगर अर्काे मगरका बिरुद्ध नलाग्ने वातावरण गरायौं । ‘अरु जे गर तर मगरका बिरुद्ध नगर बरु मगरको सहयोग गर ।’ भन्ने मान्यता स्थापित गर्‍यौं । नेवार वा जोगीको ग्रुपमा लागेर आफ्नै मगर–मगर बीच माराकाट रोक्न सफल भयौं ।

घोराहीको बडहरामा दयाजी रोकाले जग्गा किनेको र पछि जग्गा दिनेले लफडा गरेर डरधम्की दिएपछि लांघाली संघमा छलफल गरी सबै मगरहरु त्यो छलफलमा जाने कुरा भयो । गुण्डा ल्याई धम्क्याउने गरेकोले मगर यवाहरुलाई तयारीका साथ जान भन्यौं । बडहराको जग्गा फिल्ड मै छलफल शुरु भयो । छलफल बिथोल्दै एउटा पाखुरे जवान भूई ठटाउँदै उफ्रीयो ।

यतिकैमा हिरा बुढा (चक्कू हान्न बेरै नलाउने) फूक्त मान्छेहरुको बीचबाट अगाडि निस्किएर ‘ए… अहिले मरेको थाहा नपाउलास् नि’ भनेर कड्एिपछि पाखुरे चुप वातावरण शान्त भयो । छलफलबाट लफडा मिल्यो । खासमा लफडा भए गोद्न बिरमान घर्तिको नेतृत्वमा अर्कै टिम थियो त्यो प्रयोग गर्नै परेन । यसपछि डरधम्की हामीले फर्केर हेर्नु परेन । अन्ततः घोराहीमा मगर युवाहरु नयाँ शक्तिको रुपमा उदाए । परम्परागत अन्तरबिरोध लगभग ओझेलमा पर्‍यो ।

मगर भैलो र मगर युवा क्लब

त्यसताका राप्ती अञ्चल मै नाम चलेको महेन्द्र क्याम्पस एउटै क्याम्पस थियो । हामी त्यहाँका बिद्यार्थी थियौं । थवाङ्गका सन्तोष बुढा, ग्रीस पुन, मनेन्द्र बुढा, धन प्रसाद बुढा, प्रदिप रोका मेरा क्याम्पसका साथीहरु थिए । दशैं बिदामा सबै घर जान्थ्यौं तर तिहारमा ३ दिन मात्र बिदा हुने हुँदा घर जाँदैनथ्यौं । घर जान घोराहीबाट पैदल हिड्नु पर्थ्यो, जान २/३ दिन आउन २/३ दिन लाग्थ्यो । त्यसैकारण घर जाँदैनथ्यौं, मेरो त घोराहीमा घर पनि थियो त्यही टोलमा साथीहरुलाई डेरा बनाएर बसाएका थियौं ।

तिहार आएपछि सन्तोष बुढाको नेतृत्वमा भैलो खेल्ने निधो गर्‍यौं र मादल लगायत बाजाको खोजी गर्‍यौं । वास्तवमा सन्तोष बुढा जनवादी कलाकार नै थिए तर पञ्चायतको बेला बाहिर भन्ने कुरै भएन । लोहासुरमा बस्ने युवाहरु मिलेर मगर भैलोको तयारी त गर्‍यौं तर बुढाहरुले पत्याएनन् । हवल्दार मामा (खडग बुढा)को आँगनमा प्रयोग गर्‍यौं । बुढाहरु दङ्ग अनि त हवल्दार मामा हाम्रो अगुवा अनि सन्तोष बुढाको नेतृत्वमा खतरा (उत्कृष्ट) भेलाको थालनी टोल अध्यक्ष क्याप्टेन मामाका घरबाट शुरु गर्‍यौं ।

ाम्रो भैलो यति राम्रो भयो कि अरुलाई १० रुपैंयाँ दिनेले हामीलाई १०० रुपैंयाँ दिने भए । भैलो दुई बर्षसम्म खेल्यौं, त्यसपछि हाम्रो पढाई सकियो । यसको प्रभावले युवा मगरहरुमा नयाँ जागरण ल्यायो र बीरमान घर्तिको नेतृत्वमा मगर युवा क्लब नै गठन भयो ।

एसपी रामशरण थापाको भूमिका

घोराहीको भरतपुरमा बस्ने रामशरण थापा पूर्व प्रहरी उपरिक्षक (एसपी) थिए । उनी २००७ सालको राणा बिरोधी बिद्रोही मुक्ति सेनाबाट प्रजातन्त्र प्राप्तीसँगै गठित प्रहरी फोर्समा समायोजित भएका थिए । दाङ जिल्ला राप्ती अञ्चलको मुकाम मात्र नभई यसको केन्द्र नै हो । त्यही दाङ जिल्लामा मगर संघ भित्र्याउने पहिलो श्रेय एसपी मामालाई जान्छ ।

त्योबेलाको एसपी साब, त्यही भएर उनी घर भन्दा बाहिरको मगरको बैठक कार्यक्रममा बिरलै निस्किन्थे बरु पन्चायती प्रतिकूल समयमा पनि आफ्नै घरमा बैठक, भेला र राष्ट्रिय अधिबेशन समेत गराए । मगर संघलाई राप्ती पश्चिम फैलाउने श्रेय पनि वहाँलाई नै छ किनकि पञ्चायतकाल मै दाङमा राष्ट्रिय अधिबेशन गराउनु र मगर संघ दाङबाटै पश्चिमतिर फैलिनु यसको दशी हो ।

(लेखक हाल उपराष्ट्रपति नन्द बहादुर पुनका प्रमुख स्वकीय सचिव हुनुहुन्छ ।)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close