राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात :प्रचण्ड

६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने ।आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए । उनले अघि भने, ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं ।’

संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए । जनताले सही फैसला दिन्छन्, जनअदालतमा जान्छौं अहिलेको परिवर्तन जनताको आन्दोलन र जनविद्रोहबाट आएको भन्दै प्रचण्डले यसको रक्षा गर्न फेरि जनतामै जाने बताए । ‘जनताको आन्दोलन जनविद्रोहबाट आएको परिवर्तन हो । यसको रक्षा गर्न हामी जनतामै जान्छौं । जनअदालतमा नै जान्छौं’, प्रचण्डले भने । यसको तात्पर्य सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति अविश्वास नरहेको बताए । ‘जनताले मात्रै सही फैसला दिन्छ भनेर जनतालाई अपिल गरिरहेका छौं । यसको तात्पर्य निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अविश्वास होइन । हामी जनतामा जानुले उहाँहरुलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न पनि सहज बनाउँछ’, उनले भने ।

सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक आयोगहरुलाई विश्वास गरिहेको भए पनि धम्काउने र प्रेसर दिने काम गर्न नहुने उनको भनाइ छ । ‘केपी नजिक मान्छेले अदालतलाई धम्क्याउने, निर्वाचन आयोगलाई प्रेसर गर्दै हिड्नुभएको छ । हामी त्यसको पनि खबरदारी गरेका छौं’, प्रचण्डले भने । अझ, अदालत र निर्वाचन आयोगमा सेटिङ छ भन्ने प्रचारले आशंका जन्माएको उनले बताए । ‘गाउँगाउँमा उहाँहरुका मान्छेहरुले भन्नुहुन्छ, हाम्रो सेटिङ भइसकेको छ, सूर्य हाम्रै हुन्छ । यो के हो ?’ उनले भने, ‘हाम्रो प्रश्न केपी गुटलाई हो, अदालत र निर्वाचन आयोगलाई होइन ।’ उनले प्रतिनिधिसभा विघटन गरेर ओलीले आफूलाई कू पात्रका रुपमा चित्रित गरेको उमते प्रचण्डले बताए । ‘उहाँ कू पात्र भइसक्नुभयो । हामीले बनाइदिएको होइन । उहाँको आफ्नै कर्मले आफैलाई सिध्याउनुभयो । अब केही महिना मात्रै हो’, प्रचण्डले भने ।

विदेशीका अगाडि लम्पसार परेर संसद विघटन गरेको उनको आरोप छ । अब ओलीको हातमा केही बाँकी नरहेको प्रचण्डले बताए । ‘प्रष्ट बुझ्नुहोला । केपीको हातमा अब केही पनि छैन । जुन दिन उहाँले संसद् भंग गर्ने सिफारिस गर्नुभयो, त्यो दिन देखि केपीको हात सिद्धियो’ उनले भने, अब अन्तै छ चिजहरु ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शाहाकारी आन्दोलनले नपुग्ने भन्ने आफ्नो अभिव्यक्तिबारे समेत प्रष्टोक्ति दिए । ‘संविधानसभाबाट जन्मेको बच्चाको हत्या हुँदैछ । यसको रक्षा गर्न नेपाली जनता सिंह जस्तो गर्जनु पर्छ भनेको हुँ । हिंसाको आहृवान गरेको होइन । यसमा प्रष्ट हुनुपर्छ’, प्रचण्डले भने । प्रचण्डभन्दा अगाडि वरिष्ठ पत्रकार एवम् लेखक नारायण वाग्लेले प्रतिगामी कदम चाल्नेलाई बल पुग्नेगरी यस्तो शब्द किन प्रयोग नगर्न आग्रह गरेका थिए । त्यसतर्फ संकेत गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष प्रचण्डले बन्दूकको भाषा नभएर जनताको भाषा प्रयोग हुने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close