लकडाउनमै नर्सिङ लाइसेन्स परीक्षा खुलेपछि विद्यार्थी तनावमा

१२ जेठ, काठमाडौं । लकडाउनका कारण विद्यार्थीहरु गाउँघर फर्किएको बेला नेपाल नर्सिङ परिषदले नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम खुलाएको छ ।

असार २० गते लाइसेन्स परीक्षाको मिति तोकेर असार १ गतेभित्र फारम भर्न परिषदले सूचना प्रकाशित गरेको छ । अनलाइन फारम भर्ने भनिए पनि सबै विद्यार्थी इन्टरनेट पहुँचमा नरहेको र धेरै विद्यार्थीले ट्रान्सक्रिप्ट प्रमाणपत्र लगायत आवश्यक कागजातसमेत संकलन गर्न नसक्ने भएकाले अहिले लाइसेन्स परीक्षाको फारम खुलाउनु अव्यवहारिक रहेको विद्यार्थीहरुले बताएका छन् । लकडाउनका बेला परीक्षा लिने निर्णयमाथिनै उनीहरुले प्रश्न उठाएका हुन् ।काउन्सिलले यसअघि गत फागुनमा लिएको २४ औं लाइसेन्स परीक्षामा पास भएका नर्सहरुलाई दर्ता प्रमाणपत्र दिइसकेको छैन । तर लकडाउनकै बीचमा २५ औं लाइसेन्स परीक्षाको सूचना प्रकाशित गरेपछि प्रमाणपत्र तह र स्नातक पास गरेर बसेका विद्यार्थी तनावमा परेका छन् ।

आफूहरुले आग्रह गर्दा गर्दै पनि परिषदले लकडाउनको बेला लाइसेन्स परीक्षाको फारम खुलाउदा धेरै विद्यार्थी सहभागी हुनबाट बञ्चित बन्ने अवस्था रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज नर्सिङ क्याम्पसकी स्ववियु कोषाध्यक्ष ऋचा घिमिरेले बताइन् । गत चैतमा छुटेकाहरु यसपटक पनि छुट्ने भएकाले यो परीक्षा फारमनै स्थगित गर्नुपर्ने माग स्ववियुको छ । घिमिरले भनिन् ‘आवश्यक डकुमेन्ट कलेजबाट लिन पाएका छैनन्, भएका डकुमेन्ट पनि डेरामा छाडेर विद्यार्थी गाउँमा पुगेका छन् । सबै ठाउँमा अनलाइन फारम भर्ने सुविधा पनि छैन । त्यसैले हालको फारम स्थगित गरी सामान्य अवस्था भएपछि परीक्षा लिन हामीले आग्रह गरेका छौं । विद्यार्थीको भविष्यसँग जोडिएकाले उहाँहरु संवेदशील बन्नुपर्छ ।’

विद्यार्थीहरुको समस्याबारे आफूले काउन्सिल पदाधिकारीलाई अवगत गराएको नर्सिङ संघकी अध्यक्ष मना राईले बताइन् । आफू काउन्सिलको पदेन सदस्यमात्र भएकाले विद्यार्थीको समस्या अवगत गराए पनि परीक्षा रोक्ने ठाउँमा नरहेको उनको भनाइ छ । लकडाउन कायमै रहँदा परीक्षा रद्द हुने सम्भावना रहेको उनले बताएकी छन् । काउन्सिलले भने लकडाउन कायमै रहे परीक्षाको मिति हेरफेर हुने जनाएको छ । तर फारम भर्ने समय असार १ सम्ममात्र रहेकाले कागजागत जुटाउन नसक्ने र अनलाइन फर्म भर्ने पहुँचमा नरहेका विद्यार्थीको समस्या कसरी सम्बोधन गर्ने भन्नेबारे काउन्सिल बोलेको छैन ।

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकहरुको लाइसेन्स परीक्षा लकडाउनकै कारण रोकिएको छ भने एसईई परीक्षालगायत सबै परीक्षा रोकिएका बेला नर्सिङ लाइसेन्स परीक्षा लिन लागिएपछि विद्यार्थी तनावमा परेका छन् । उनीहरुले परिस्थिति सहज भएपछि परीक्षा लिन माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close