शिक्षण पेशा छाडेर कागती खेती

पूर्वी चितवनको कालिका नगरपालिका–६ जमुनापुरका सीपी अधिकारी चक–डस्टर छाडेर मल–पानीमा लागेको पाँच वर्ष भयो ।

निजी विद्यालयको प्रिन्सिपल र मन्टेश्वरी सञ्चालकको रूपमा राम्रै कमाइ र प्रतिष्ठा आर्जन गरिरहेका बेला अचानक उनी कृषि कर्ममा लागेका थिए ।‘सबै कुरा राम्रै थियो तर मनमा आनन्द भएन’, विज्ञानमा स्नातक गरेका उनी भन्छन्, ‘अनि १७ वर्ष लामो शिक्षण पेशा छाडेर अचानक कागती खेतीका लागि स्काप मल्टी एग्रो फार्म खोलेँ ।’

उनले सुरुमा प्रतिकठ्ठा तीन हजार रुपैयाँ भाडा तिर्नेगरी एक बिघा जग्गामा ३५० वटा बिरुवा लगाए । अनुभव थिएन, प्राविधिक पक्षका बारेमा विज्ञ र युट्युबबाट सिक्दै व्यावसायिक कागती खेती थाले । दोस्रो वर्ष कालिका–६ जमुनापुरका आफ्नै डेढ बिघामा ६५० बिरूवा रोपे । तेस्रो र चौथो वर्ष गरेर १० लाखको कागती बेचेका उनले यस वर्ष थप १० लाखको कागती बेच्ने लक्ष्य रहेको बताए । तीनवटा बगैंचाको वार्षिक खर्च दुई लाख रुपैयाँसम्म छ । कागतीका लागि सुरुमा निकै कामदार लागे पनि पछि मौसमी काम गराउँदा पुग्छ ।

कागती बाह्रै महिना बिक्री हुने चिज हो । यसमा मुख्यगरी तीन किसिमका रोगले दुःख दिने अधिकारी बताउँछन् । ‘पात दोब्रिने लिफमाइनर, डाँठ र फलमा खटिरा देखिने क्याङकर र दाना झर्ने रोग लाग्दो रहेछ । बेलाबखत जरा कुहिने रोगले पनि दुःख दिन्छ’, उनी भन्छन्, ‘चाहिएको बेला युरिया मल नपाउनुचाहिँ बाह्रमासे समस्या हो ।’ कालिकामा अधिकारीसहित १० जना व्यावसायिक कागती खेतीमा लागेका छन् । चितवनभरका झण्डै ५० जना व्यावसायिक कागती खेतीमा लागेका छन् । चितवनमा १०० बिघा जमिनमा कागती खेती भएको अनुमान छ ।

कृषक अधिकारी अहिलेसम्म कुनै सरकारी निकायबाट एक रूपैयाँ पनि अनुदान नलिएको बताउँछन् । ‘बिरुवा रोप्ने बेलामा कृषि ज्ञान केन्द्र पुगेको थिएँ’, उनी भन्छन्, ‘कहिले पाउने टुङ्गो नभएको बिरुवाको ३५ रुपैयाँ र त्यसमा अनुदान १७ रुपैयाँ ५० पैसा भनेपछि त्यसै फर्किएँ ।’ सरकारी अनुदानको चक्करमा समय बिताउनुभन्दा २०० रुपैयाँ गोटा बिरुवा किनेर धमाधम रोप्न ठीक लागेको उनले बताए ।

भारतबाट आउँछ विषादीयुक्त कागती

कागतीको बजार राम्रो छ तर मूल्य बिचौलियाले तोक्छन् । अधिकारीले नारायणगढको तरकारी मण्डीमा लगेर कागती बेच्ने गरेका छन् । उनका अनुसार भाउ पाइन्छ– प्रतिकिलो १०० देखि २०० रुपैयाँसम्म । ‘किलोको १०० चाहिँ घाटाको भाउ हो’, उनी भन्छन्, ‘तर भाउ तोक्नेहरू सस्तो भारतीय कागती आएकाले नेपालीको मूल्य खस्केको छ ।’ उनका अनुसार, भारतबाट विषादीले पहेँलो भएको कागती आउँछ । नेपालीको आँखा पहेँलोले नै टिप्छ, रसदार हरियो नेपाली कागतीले तान्दैन । ‘त्यसैले नेपाली कागतीको बजारहिस्सा जम्मा ७ प्रतिशत छ’, उनी भन्छन्, ‘९३ प्रतिशत कागती भारतबाटै आपूर्ति भइरहेको छ ।’

भारतमा जे लगाए पनि किसानलाई ठूलो परिमाणमा सरकारी अनुदानको व्यवस्था गरिएको छ । त्यसले गर्दा किसानको उत्पादन लागत कम हुने भएकाले भारतीय काउलीदेखि कागतीसम्म सस्तो पर्छ । भारतीय कृषि उपजको भाउसँग नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने अवस्था अहिले छैन । त्यसैले, अधिकारीको १० बिघा जमिनमा कागती उब्जाउने योजना थाँती रहेको छ । खाल्डा खनिसकेको ठाउँमा पनि नयाँ बिरुवा लगाउने आँट नआएको उनी बताउँछन् ।

उनका अनुसार नेपालमा जमिनको लिज अवधि पनि समस्याको रूपमा रहेको छ । तेस्रो वर्षमा मात्र उत्पादन हुन थाल्ने कागती खेतीका लागि कम्तीमा १० वर्षका लागि जमिन चाहिने अधिकारी बताउँछन् । ‘पाँच वर्षका लागि लिजमा लिएर कागती रोप्नुको अर्थ हुँदैन’, उनी भन्छन्, ‘पानी नजम्ने, यातायात सुविधा भएको जग्गा १० वर्षका लागि पाउनु पनि असम्भव जस्तै भएको छ ।’ त्यसमाथि भारतीय कागती सस्तो हुनु, नेपाली किसानले अनुदान र प्राविधिक सहयोग नपाउनुलगायतका कारण नेपालमा कागती बजार भएर पनि व्यावसायिक खेती फस्टाउन नसकिरहेको अधिकारी बताउँछन् ।

अबको योजना : कागतीको बेर्ना

कागतीको बिरुवाका लागि निकै दुःख पाएका अधिकारी आफैँले गुणस्तरीय बिरुवा उत्पादन गर्ने योजना बनाएका छन् । सरकारीस्तरबाट कागतीको बिरुवा उत्पादन गर्ने धनकुटाको पारीपात्ले जाँदा निकै हण्डर पाएका उनले दानाको साटो बिरुवा उमार्ने तयारी थालेका हुन् । सरकारी तवरबाट उत्पादित सुन कागती–१ को एउटा बिरुवालाई अहिले ६० रुपैयाँ र निजीस्तरबाट उत्पादितलाई २०० पर्छ । त्यसैले यसमा अवसर देखेका अधिकारी सुन कागती–१ र २ जातका बिरुवा निकाल्ने तयारीमा लागेका हुन् ।

उनका अनुसार सानो चिल्लो दाना लाग्ने सुन कागती–१ बाह्रमासे फल हो । नेपालमा वर्षभरि न्यानो र ओसिलो हावापानी हुने समुद्री सतहबाट १०० मिटरदेखि १८०० मिटर उचाइसम्म यो कागती फल्ने अधिकारी बताउँछन् ।

कसरी लगाउने कागती ?

नेपालको पहाड र मधेश कागती खेतीका लागि उपयुक्त मानिन्छ । पानी नजम्ने जमिनमा कागती लगाउँदा सप्रने अधिकारीको अनुभव छ । कागती खेती गर्न चाहनेहरूलाई उनका सुझाव यस्ता छन् :

वैशाखमा खाडल खनेर १५ दिन जति घाममा सुक्न दिने । खाडलमा पातपतिङ्गर जलाउँदा अझ राम्रो हुन्छ । गोबर मल, बायो डिकम्पोजर र माटो मिलाएर जमिनबाट केही अग्लो हुनेगरी खाडल भर्ने । असारमा चार मिटर फरक पारेर बिरुवा रोप्ने । पानी भए पुसमा पनि रोप्न सकिन्छ । बेलाबेला गोडमेल गर्ने । कागतीमा रोगहरू लाग्न नदिन बगान सफा राख्ने, हिउँदमा सुकेका हाँगाबिँगा काँटछाँट गरी हटाउने । काँटछाँटपछि एक लिटर पानीमा ३ ग्राम कपरअक्साइड मिसाएर छर्कने । रोपेको ६ महिनामा नै फूल लाग्छ तर त्यसलाई फल्न नदिने । रोपेको दोस्रो वर्षबाट मात्र फल्न दिने । बिजु बिरुवा रोपेको ४–५ वर्षपछि मात्र फल्ने हुनाले व्यावसायिक उत्पादन लिन मुस्किल हुन्छ । ग्राफ्टिङ गरेको बिरुवाले पहिलो वर्षदेखि नै फल दिन्छ तर चार–पाँच वर्षमा नै बोट मर्छ । तीन पाते सुन्तलाको बिरुवामा सुन कागती ग्राफ्ट गरेको बिरूवा सबैभन्दा राम्रो हुन्छ ।सुवास पण्डित/अनलाइनखबर

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close