सुगम-सुरजको हिट जोडीले ल्यायो ‘कसरी भनूँ’

सुरज शाह दर्जनौं चर्चित म्युजिक भिडिओका निर्देशक हुन्। उदेश श्रेष्ठको ‘किन मायामा’, रीजा उप्रेतीको ‘अँगालोमा बाँध न’, सिजन्स ब्यान्डको ‘सुनेको कुरा’ केही उदाहरण हुन्।

गायक सुगम पोखरेलका ‘मायाको बाटो’, ‘भनेकै हुँ मैले’, ‘सयौं जन्म’, ‘एकान्त’मा जस्ता चर्चित गीतहरु पनि सुरजकै निर्देशनमा बनेको हो। करिब आठ वर्षअघि अमेरिका जानुअघि सुरज ‘डिजिटल ड्रिम्स’बाट भिडिओ निर्माण गर्थे। उनै सुरजले वर्षौपछि गायक सुगमसँगको सहकार्यमा नयाँ गीत सार्वजनिक गरेका छन्। ‘कसरी भनूँ तिमीलाई’ बोलको यो गीत रिकेश गुरुङको शब्द-संगीतमा तयार भएको हो। गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन्। अनुराज र सदीक्षाले अभिनय गरेको भिडिओको सम्पादन पनि सुरजले नै गरेका हुन्। यो मेलोडियस गीतको भिडिओमा गायक सुगम पोखरेल र भिडिओ निर्देशक सुरज पनि देखिन्छन्।

निर्देशक सुरजले वर्षौपछि गायक सुगमको गीत निर्देशन गर्न पाउँदा विगतका दिनहरु याद आएको बताएका छन्। उनले सेतोपाटीसँगको टेलिफोन संवादमा भने, ‘अमेरिका आएपछि भिडिओ निर्देशनमा समय दिन पाएको थिइनँ। यो गीतमा काम गरेपछि थप भिडिओ निर्देशन गर्ने उत्साह बढेको छ।’ उनले यसपछि अमेरिकामा रहेका गायक दिपेशकिशोर भट्टराईको गीतको भिडिओमा काम गर्ने तयारी भइरहेको जानकारी दिए।यसअघि सुरजले निर्देशन गरेका गायक सुगमका सबैजसो गीत चर्चित छन्। नेपाल छँदा लामो समय टेलिभिजनमा प्रोडक्सनको जिम्मेवारी सम्हालेका सुरजले धेरै सफल गीतहरु निर्देशन गरे पनि टेलिभिजनमा प्रसारित गीतबाट सोझै प्रतिक्रिया पाउँथेनन्।

हाल युट्युबमा अपलोड भएको गीत ‘कसरी भनूँ तिमीलाई’बाट सामाजिक सञ्जाल र युट्युबमा स्रोता दर्शकको प्रतिक्रिया बुझ्न पाएकोले रमाइलो लागेका उनले बताए। यो गीतको भिडिओ गायक सुगम पोखरेलको युट्युब च्यानलमा अपलोड गरिएको हो।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close