प्रधानमन्त्री केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ ।

प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएन । शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट टसमस भएनन् । तत्कालीन एमाले र माओवादीको एकता गर्ने गोप्य सहमतिका दुई साक्षी महासचिव बिष्णु पौडेल र अर्का नेता जनार्दन शर्मालाई समेत राखेर केपी ओलीसँग अर्का अध्यक्ष प्रचण्डले शुक्रबार बालुवाटारमा लामो, तर निश्कर्षहीन छलफल गरे ।

छलफलमा प्रचण्डले २०७५ जेठ २ गतेको समझदारीमा फर्किए कुरा मिल्न सक्ने संकेत गरे । तर, ओलीले २०७६ मंसिर ४ गतेभन्दा पछाडि फर्किन नसक्ने बताउँदै प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान राखे । प्रचण्डले प्रस्ताव गरेको जेठ २ को समझदारी भनेको ओली र प्रचण्डले अढाइ–अढाइ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भन्ने हो । त्यो समझदारीलाई मान्ने हो भने ओलीले आगामी मंसिरमा प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, ओली त्यसो गर्न तयार भएनन् ।

केपी ओलीले यसअघि नै सहमति जनाइसकेको मंसिर ४ को सहमति भनेको पाँचै वर्ष ओलीले प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष चलाउने भन्ने हो । यसो गर्दा ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा निरन्तर कायम रहने छन् । शुक्रबारको छलफलमा प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न आग्रह गरेका थिए । ओलीबाट सरकार र पार्टी दुवै चल्न नसकेको भनेर बहुमत नेताहरुले दुवै पद छाड्न भन्दै आए पनि एउटा पद छाडेमा पार्टीभित्रको विवाद समाधान हुने प्रचण्डको संकेत थियो ।

प्रधानमन्त्री ओली जेठ २ को समझदारीमा नफर्किने हो भने नयाँ सम्झौता हुनुपर्ने प्रचण्डले छलफलमा बताएका थिए । त्यो भनेको ओलीले तत्काल प्रधानमन्त्री पद त्याग्ने नै हो । पछिल्लो समय प्रचण्डले जस्तै माधव नेपाल पक्षले पनि ओलीले तत्काल प्रधानमन्त्री छाड्नुपर्ने बताउँदै आएको छ । यसको अर्थ केपी ओलीले प्रधानमन्त्री छाडेमा पार्टीको गतिरोध अन्त्य हुनेछ र उनी पहिलो बरियताको अध्यक्षका रुपमा शक्तिमै रहनेछन् । त्यसपछिको प्रधानमन्त्री प्रचण्ड कि माधव नेपाल भन्ने त्यो अर्को पाटो हो ।

बालुवाटारमा शुक्रबार भएको वार्तामा प्रचण्डले २०७५ जेठ २ को समझदारीमा फर्किँदा अहिलेको विवाद टुंगो लाग्ने आशय व्यक्त गरेको स्रोतले जनाएको छ ।
तर, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहो¥याएपछि समझदारीको वातावरण बन्न नसकेको स्रोतको भनाइ छ । ओलीको यही अडान कायम रहँदा पार्टी नेताहरुलाई कन्भिन्स गर्न नसकिने र स्थायी कमिटीको बैठकले उनलाई तत्कालै राजीनामा गर्न निर्देशन दिने अवस्था आउन सक्ने बालुवाटारको छलफलमा प्रचण्डले ओलीलाई बताएका थिए ।

जवाफमा ओलीले पार्टीले जे गर्छ गरोस् तर दुवै पदबाट हट्दिनँ भनेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close