पासपोर्ट लिनेको संख्या घट्दै : १३ लाखबाट ४ लाखमा सीमित

काठमाडौँ । पासपोर्ट लिने नेपालीको संख्या निरन्तर घट्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ मा एकै वर्ष १३ लाख ३६ हजारले पासपोर्ट लिएकोमा २०७६/७७ मा यो घटेर ३ लाख ९८ हजारमा सीमित भएको हो । यो अवधिमा जारी हुने पासपोर्टको संख्या प्रत्येक वर्ष घट्दै गएको छ ।

सरकारले सन् २०१० मा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण सुरु गरी सन् २०१५ देखि त्यसलाई अनिवार्य गरेसँगै पुरानो पासपोर्ट रद्द गरेर एमआरपी बनाउनेको संख्या ह्वात्तै बढेको थियो । त्यही भएर आर्थिक वर्ष २०७०/७१ मा १० लाख १२ हजार र आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी अर्थात् १३ लाख ३६ हजार राहदानी जारी भएका थिए । हातले लेखेर जारी गरिएको पासपोर्ट नचल्ने भएसँगै २०७०/७१ देखि यस्तो पासपोर्ट बनाउनेको भीड लागेको हो । २०७०/७१ मा एकैवर्ष १० लाख १२ हजारले यस्तो राहदानी लिएका थिए ।

राहदानी विभागबाट आर्थिक वर्ष २०६७/६८ मा १ लाख ७३ हजार, २०६८/६९ मा ४ लाख ७ हजार, २०६९/७० मा ५ लाख ६८ हजार राहदानी जारी भएका थिए । २०७०/७१ र २०७१/७२ को दुई वर्ष १०/१० लाखभन्दा बढी पासपोर्ट वितरण भएको रेकर्डपछि भने अहिले अंक १० लाख भन्दा कममा सीमित भएको छ । र, यो अंक खुम्चिँदै गएको समेत छ । मुलतः वैदेशिक रोजगारीका लागि प्रयोग गरिने पासपोर्र्ट वैदेशिक रोजगारीको संख्यामा जाने संख्यामा कमी आएसँगै वितरणमा कमी आएको हो । अर्कोतिर वितरित पासपोर्टको अवधि धेरै भएका कारण पनि नवीकरण गर्ने समय नआएकाले यसको वितरण कम हुँदै गएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा ८ लाख ७० हजार, २०७३/७४ मा ५ लाख ५७ हजार, २०७४/७५ मा ५ लाख ३१ हजार २०७५/७६ मा ५ लाख ३१ हजार तथा २०७६/७७ मा ३ लाख ९८ हजारले राहदानी लिएको विभागको तथ्यांक छ । यो तथ्यांक हेर्दा १० वर्षको यो अवधिमा राहदानी (पासपोर्ट) बाहकको संख्या करिब ६४ लाख पुगको देखिएको छ । ३ करोड भन्दा कम जनसंख्या रहेको नेपालको यो अवधिमा कुल ६३ लाख ७२ हजार १ सय ५३ पासपोर्ट जारी भएका हुन् । सरकारले १० वर्ष अघि ७० लाख एमआरपी छापेको थियो । अब विभागसँग करिब साढे ५ लाख राहदानी बाँकी छ । यो पासपोर्ट बाँकी होउन्जेलसम्म विद्युतीय पासपोर्टको छपाई प्रक्रिया पूरा भएसक्नुपर्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close