चीनबाट प्राप्त भएको सामान भोलि नै प्रदेशमा पुग्ने

नेपाल सरकारले चीनबाट खरिद गरेको तथा ‘ज्याक मा’ फाउण्डेसनबाट प्राप्त भएको मास्क तथा पीसीई भोलि (सोमबार) बिहान प्रदेशमा पठाइने भएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार ती मास्क र पीपीई तथा त्यससँग सम्बन्धित उपकरणहरु सोमबार बिहान हेलिकोप्टर मार्फत् प्रदेशमा पठाइन लागिएको हो । ती सामग्रीमध्ये अधिकांश सामग्री विमानस्थलबाटै प्रदेश सरकारलाई पठाउन लागिएको हो । त्यसका लागि आइतबार साँझ त्रिभुवन विमानस्थलमा सामान छुट्याउने काम भइरहेको छ ।

विभागका महानिर्देशक श्रेष्ठका अनुसार अहिले तत्कालका लागि प्रत्येक प्रदेशमा ५–५ हजार थान एन ९५ मास्क र एक–एक हजार थान पिपिई पठाउन लागिएको छ । त्यसका लागि नेपाली नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने वा अन्य हेलिकोप्टर प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ । यद्यपि नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने साँझ ६ः२० सम्म हेलिकप्टर माग गरिएकोबारे कुनै जानकारी नआएको बताएका छन् । उनले भने, ‘यसपछि माग आउन पनि सक्ला, तर अहिलेसम्म त्यस्तो कुनै माग आएको छैन । एअरपोर्टमा सामान छुट्याउने काम भने नेपाली सेनाले गरिरहेको छ ।’

ल्याबका सामान भने तत्कालै नपठाइने:-

विभागका महानिर्देशक श्रेष्ठका अनुसार तत्काललाई एन ९५ मास्क, सर्जिकल तथा पीसीई पठाउन लागिएको भएपनि कोरोना परीक्षणमा प्रयोग हुने ल्याबका मेसिन तथा उपकरण भने तत्कालै नपठाइने भएको छ । ल्याबका लागि ल्याइएको मेसिनको परीक्षण (टेष्ट) गर्नुपर्ने र ल्याबका तालिमप्राप्त जनशक्ति पनि पठाउनुपर्ने भएकाले मेसिन, कर्मचारी तथा उपकरण पठाउन केही दिन लाग्नेछ । श्रेष्ठका अनुसार ती सामान र जनशक्ति ३ वा ४ दिनपछि मात्रै प्रदेशमा पठाइने छ ।

शिक्षण अस्पताल तथा ठूला अस्पतालमा विभागले छुट्टै पठाउने:-

कोरोना भाइरससँग जुध्न आवश्यक उपकरण तथा स्वास्थ्य सामाग्री केही शिक्षण अस्पताल तथा ठूला निजी अस्पताललाई पनि दिइने विभागले जनाएको छ । त्यसका लागि भने विभाग आँफैले अस्पतालहरु छनोट गरी पठाउने तयारी गरेको महानिर्देशक श्रेष्ठले रातोपाटीलाई बताएका छन् । श्रेष्ठका अनुसार हाल सरकारसँग पर्याप्तमात्रामा एन९५ मास्क रहेको छ । पिपिईको सङ्ख्या केही कम भएको भएपनि ती सामाग्री पनि केही दिनमा थप आउने भएकाले तत्कालका लागि आवश्यक सामाग्रीहरुको चिन्ता गर्नुपर्ने अवस्था रहेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close