अन्तराष्ट्रियराजनीति

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौंमा, भ्रमण कार्यसूची यस्तो !

२७ भदौ, काठमाडौं। चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन्। सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन्। उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन्।

कार्यसूचीअनुसार उनले सोमबार काठमाडौं उत्रिएको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ। परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ। भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ। भेटपछि सभामुख सापकोटाले समकक्षी लीका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन्।

भ्रमणको दोस्रो दिन बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। उक्त भेटवार्तापछि होटल सोल्टीमा दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्कासँग उनको भेटवार्ता हुने तय भएको छ। परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अपरान्ह ४ बालुवाटार पुग्ने कार्यक्रम छ।

भ्रमणको तेस्रो दिन उनी बुधबार बिहान भक्तपुर भ्रमण गर्नेछन्। त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेट हुनेछ। राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुन: भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>