राजनीति
निर्वाचन आयोगमा डा बाबुराम भट्टराईको समूहले ‘नेपाल समाजवादी पार्टी’ दर्ता

काठमाडौं, १२ साउन। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिएका छन्।
कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा नयाँ शक्ति पार्टी खोलेका थिए। उक्त पार्टी संघीय समाजवादी फोरमसँग एकीकरणपछि संघीय समाजवादी पार्टी बनेको थियो। पछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण भई जनता समाजवादी पार्टी बन्यो। बाबुराम जसपाबाट अलग भए।
नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ। दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन्। कुनैबेला जनमोर्चामा रहेका बाबुराम माओवादी जनयुद्धमा लागेका थिए। यसरी उनले सातौं पार्टीमा आफूलाई संलग्न गराइसकेका छन्।