फिल्म नहुँदा आजबाट खुलेनन् हलहरु

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न समेत गरेका थिए ।

प्रशासनले हल खुल्न दिने निर्णय गरेपनि प्रदर्शनका लागि कुनै पनि चलचित्र तयार छैनन् । यस्तै, बलिउड तथा हलिउड चलचित्र पनि वितरकले खरिद नगरेकाले तत्काल के चलाउने भन्ने अन्यौल छ । यसैले, पनि काठमाडौंका हलहरु आजबाट नखुलेको हल संचालकहरुले बताएका छन् । काठमाडौंको नयाँ बाँनेश्वरमा रहेको वान सिनेमाज्का म्यानेजर उमेश गिरी वितरकहरुबाट चलचित्रको बिषयमा कुनै पनि जानकारी नआएकाले हल आजबाट नखुलेको बताए । उनले भने–‘हामीलाई वितरकहरुले नयाँ चलचित्रको बिषयमा कुनै पनि जानकारी गराउनु भएको छैन । यसैले, चलचित्र नै नभई हल खोलेर पनि अर्थ भएन ।’ उनले, वितरकहरुबाट चलचित्रको बिषयमा जानकारी आएसँगै हल संचालनमा आउने समेत प्रतिक्रिया दिए । वान सिनेमाज्मा २ वटा पर्दा रहेका छन् ।

यस्तै, काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलका संचालक सोहित मानन्धरले चलचित्र चलाउन आफूहरु तयार भएपनि चलचित्र नै नभएकाले हल नखुलेको बताए । उनले भने–‘हामी चलचित्र चलाउन पूर्ण रुपमा तयार छौं । तर, हिजो भएको निर्णय आज नै कार्यान्वयन गर्न सकिने अवस्था छैन । नयाँ चलचित्र नआएसम्म हल खुल्ने संभावना पनि छैन । सायद, अर्को साताबाट हल खुल्छ होला ।’ अष्टनारायणमा ४ वटा पर्दा भएपनि सुरुवाती दिनमा १ वा २ वटा पर्दाबाट चलचित्र रिलिज सुरु गरिने सोहितले जानकारी दिए । चलचित्र संघका महासचिव अशोक शर्माले आज कुनै पनि हल नखुलेको बताए । उनले भने–‘हलहरु सुचारु हुन अझै एक साता लाग्छ होला । किनकी, पहिलो कुरा त चलचित्र नै छैनन् । दोश्रो कुरा धेरै हलहरुमा सरसफाई पनि गर्नुपर्ने अवस्था छ ।’

उनले चलचित्र रिलिजका लागि वितरक तथा निर्मातासँग छलफल अगाडि बढाएको पनि जानकारी दिए । काठमाडौं उपत्यकामा रहेका ४ दर्जन बढी हलहरुमध्ये डेढ दर्जन हल कोभिडका कारण सधैका लागि बन्द भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close