खेलकुद

बार्सिलोनाले थाल्यो कसरत जाभीलाई भित्र्याउन

रोनाल्ड कुमनलाई बर्खास्त गरेपछि बार्सिलोना अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । र, बार्साका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजलाई सम्भावित नयाँ प्रशिक्षकका रुपमा हेरिएको छ ।

स्पेनिस वेवसाइट मार्काका अनुसार बार्साका अध्यक्ष जोआन लोपार्टाले जाभीलाई नै क्लबमा ल्याउनेगरी तयारी अघि बढाएका छन् । तर, जाभीसामु अल सादसँगको आफ्नो सम्झौता सहमतिमा टुंग्याउनुपर्ने चुनौती छ । कतारी क्लब अल सादसँग जाभीले सन् २०२२ सम्मका लागि सम्झौता गरेका छन् । त्यहीकारण उनले क्याम्प नोउमा आउने प्रक्रिया सहज छैन । जाभीले बिहीबार अल सादका प्रमुखसँग भेटेका थिए । उनले बार्सामा नयाँ प्रशिक्षकको जिम्मेवारी लिने आफ्नो इच्छाका विषयमा पनि यस भेटमा जानकारी गराएको स्पेनिस वेवसाइट मार्काले जनाएको छ । अल सादका पदाधिकारीहरु पनि सकारात्मक देखिएका छन् । तर, आफ्नो क्लबलाई बार्साले स्थानान्तरण शुल्क बुझाउनुपर्ने शर्त उनीहरुले राखेका छन् ।

अल सादका पदाधिकारीहरुले यसअघि पनि जाभी क्याम्प नोऊ फर्कने वातावरण तय भएमा आफ्नो क्लबको कुनै आपत्ति नरहने जनाएका थिए । तर, कम्तिमा ३ नोभेम्बरसम्मका लागि अल सादले जाभीलाई क्लबमा राख्न चाहेको छ । यसपछि मात्रै जाभी बार्सामा आउने संभावना छ । त्यसअघि अलाभेस, डायनामो किम र सेल्टा भिगोसँग बार्सिलोनाले खेल्नेछ । शनिबार रायो भाल्नेकानोसँग बार्सिलोना १–० ले पराजित भएसँगै कुमन बर्खास्तीमा परेका थिए । बार्सिलोनाले जारी लिगमा निकै खराब प्रदर्शन गरेको छ । उसले पछिल्ला १० खेलमा केवल ४ खेल जितेको छ । मेसीको बर्हिगमनपछि बार्सिलोनामा देखिएको यस्तो संकट र खराब अवस्थालाई चिर्न जाभी नै सही विकल्प हुने बार्सिलोनाको बुझाई छ ।

त्यहीकारण तत्कालका लागि बार्सिलोनाले आफ्नो युवा टोलीका प्रशिक्षक सर्जी बार्जुवानलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ । नयाँ प्रशिक्षक नियुक्त नहुँदासम्म उनले नै क्लब सम्हाल्नेछन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close