अन्तरर्वार्तामनाेरञ्जन

मलेसियामा २१ दिन थुनिएँ : श्रेया राई

जुन ६ तारिख २०१९ । मलेसियाको क्वालालम्पुर, कोतराय कम्प्लेक्स । एसएसओजी धमाका–१ ।

प्रवासी नेपाली दाजुभाइलाई मनोरञ्जन दिलाउन उपस्थित थिए, नेपाली कलाकर्मीको एउटा टोली । कोही गाउँदै थिए, कोही नाच्दै थिए । जसै कार्यक्रमले गति लियो अचानक स्थानीय प्रहरीहरु प्रवेश गरे । गीत गाउन पालो पर्खेर बसेका श्रेया राई, सुनिता थेगिम र सुजन आङ्देम्बेलाई उनीहरुले पक्राउ गरे । तीन कलाकारसहित अन्य २६ जना प्रहरी फन्दामा परे ।

कसूर थियो, भिजिट भिसा । मलेसियामा कार्यक्रम गर्न जाने कलाकारहरुलाई ‘आर्टिस्ट भिसा’ दिइन्छ, त्यसअनुसार कर लिन्छ । तर भिजिट भिसामा गएर स्टेज कार्यक्रम गरेको भन्दै मुद्दा चलाइयो । २६ जनाले २१ दिनसम्म प्रहरी हिरासतमा बसे । गायिका श्रेया भन्छिन्, ‘भर्खर संगीत क्षेत्रमा आउँदै थिए, सुरुमै लडेको जस्तो भयो । त्यो २१ दिन त तनावै तनावमा बित्यो ।’ श्रेयाका अनुसार उनले आयोजकसँग आर्टिस्ट भिसा नमागेको होइन । तर उनीसँगै जाने दुई कलाकारको भिजिट भिसा लागिसकेको थियो भने समय पनि कम थियो । श्रेया भन्छिन्, ‘अरु कलाकार पनि भिजिट भिसामा गएर कार्यक्रम गर्नुहुन्छ भन्ने सुनेको थिएँ । त्यसैले ठिकै छ नि त भनेर गएँ तर, फसियो ।’ मलेसियामा नेपाली कलाकार पक्राउ परेको खबर सामाजिक सञ्जालमा आउन थाले । श्रेयालाई घरको चिन्ता लाग्न थाल्यो । भन्छिन्, ‘हामीलाई पो थाहा थियो त म यस्तो भएको छु भन्ने । घरमा कसरी थाहा होस्, त्यसैले घरको चिन्ता थियो ।’

उनका अनुसार प्रहरीले आफू कलाकार भएको प्रमाणित गरेपछि बल्ल एक कल गर्न फोन दियो । श्रेयाले हत्तपत्त आमाको नम्बर दबाइन् । फोनमा छोरीको स्वर सुन्नासाथ आमाले प्रश्न गरिन्, ‘नानी, तँ त जेलमा छेस् रे त !’ जेल पुगिनसकेकी श्रेयाले आमालाई बेलिबिस्तार सुनाउँदै थिइन्, ब्यालेन्स सकिएर फोनको लाइन काटियो । त्यसपछि प्रहरी हिरासतमा रहँदासम्म कुरा गर्न पाइनन् । आफूसँग थुनामा परेकी राई थरकी एक महिलालाई हेरेर आमाको न्यास्रो मेटेको उनले सुनाइन् । ‘हामीसँगै एकजना राई आन्टी हुनुहुन्थ्यो । ठ्याक्कै मेरो मम्मी जस्तै’, श्रेया भन्छिन्, ‘उहाँसँग बोलिरहन्थे । मम्मीजस्तै मानेर जिस्किन्थेँ ।’ यो टोली १४ दिन अध्यागमनको हिरासतमा बस्यो । त्यसपछि अदालती प्रक्रिया सुरु भयो र २१ औं दिनमा नेपाल डिपोर्ट गरिए । काठमाडौं छाडेको २३ औं दिनमा उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । त्यो क्षण सम्झिँदै श्रेया भन्छिन्, ‘एअरपोर्टमा झरेपछि बल्ल लामो सास फेर्न सके ।’

भ्वाइसले दिलाएको स्टेज:-
श्रेया संगीत क्षेत्रमा भर्खर बामे सर्दैछिन् । तर देशविदेशमा स्टेज शोहरु पाइरहेकी छन् । त्यसको कारण भनेको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ भएको मान्छिन् । भ्वाइसको पहिलो सिजनमा श्रेया टप ८ मा पुगेकी थिइन् । उनी भन्छिन्, ‘भ्वाइसको ब्लाइन्ड अडिसनमा गाएको अंग्रेजी गीतले मलाई परिचित गरायो । शोका क्रममा गएका अरु गीतले थप प्रशंसक कमायो ।’ ब्याचलर इन नर्सिङ पढ्दै गरेकी श्रेया पढाई छोडेर रियालिटी शोमा भाग लिन पुगेकी थिइन् । शोले आफूलाई धेरै कुरा सिकाएको उनी बताउँछिन् । ‘संगीतका लागि मेरो पाठशाला नै बनेको छ द भ्वाइस । त्यहाँबाट धेरै कुरा सिक्न पाएँ’, उनी थप्छिन्, ‘त्यसैले गर्दा मैले धेरै जनासँग रिलेसन बनाउन सकेको छु ।’ भ्वाइस अगाडि श्रेयाले नेपाल आइडल पहिलो वानमा पनि सहभागी भएकी थिइन् तर यात्रा निकै छोटो भयो । थिएटर राउण्डबाटै आउट भएकी उनलाई कमैले चिने ।

राजेशपायलको साथ:-
भ्वाइसबाट कमाएको चर्चालाई श्रेया चर्चित गायक राजेशपायल राईको नजरमा पनि परे । त्यसैले पहिलो गीत नै राजेशपायलसँग गाउन पाइन् । चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीतमा राजेशले श्रेयालाई मौका दिएका हुन् । श्रेयाकाअनुसार त्यसबेला राजेशपाय आफैंले म्यासेज गरेर श्रेयालाई गीतको अफर गरेका थिए । उनी धनकुटा घरबाट काठमाडौंमा फर्किँदै थिइन् । मोबाइल म्यासेज आयो, यस्तो गीत दिन आटेको छु नाननी … । सुरुमा उनलाई पत्यार लागेन । उनले फोन गरिन, एसएमएस गर्ने राजेशपायल राई नै रहेछन् । उनलाई अप्रत्यासित प्रस्तावले जति खुसी दिएको थियो, त्यति नै डर पनि थियो । राजेशपायल राईको अपेक्षाअनुसार गाउन सक्छु कि सक्दिन भन्ने लागिरह्यो । गाह्रो पनि भयो तर राजेशपायल दाइले निकै सहयोग गर्दा सहज भएको उनले सुनाइन् । भन्छिन् ‘उहाँले संगीत क्षेत्रमा आएका नयाँ पुस्तालाई सपोर्ट गर्नुहुन्छ । मलाई पनि निकै सहयोग गर्नुभयो । उहाँले सिकाउदा छुट्टै उर्जा मिल्थ्यो ।’

पप गीतको माग:-
श्रेयाले आफ्नो स्वरमा अहिलेसम्म ८ वटा गीत रेकर्ड गराएकी छन्, जसमा क्लासिकल, सेमिक्लासिकल र लोक छन् । तर भ्वाइसबाट चिनेका फ्यानहरुले पप गीत गाउन सल्लाह दिइरहेको छन् । श्रेया भन्छिन्, ‘द भ्वाइसमा मैले बढी पप गीतहरु गाएँ । त्यो जनरामा धेरैले मेरो स्वर रचाउनु भएको रहेछ ।’
अहिलेसम्म पपको अफर आएको छैन । तर आफैं भए पनि फ्यानलाई पप गीत कोशेली दिने सोचमा छिन् उनी । भन्छिन्, ‘म मेरो शुभचिन्तकलाई दुःखी बनाउन चाहन्न । आफैं भए पनि एउटा पप गीत बनाउने सोचिरहेको छु ।’ अनलाइनखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>