सूचना प्रबिधि

ट्वीटरमा, शव्द फुरेको बेला लेखेर राख्ने, फुर्सदमा ट्वीट गर्ने

काठमाडौं । कुनैबेला तपाईं फुर्सदमा हुनुहुन्छ र केही कुरा ट्वीट गर्न चाहनुहुन्छ । तर तत्कालै मन फेरिन्छ वा मुड बदलिएर तपाईंलाई ट्वीट गर्ने जाँगर चल्दैन । अनि पछि कुनै बेला ट्वीट गरौँला भनेर पन्छिनुहुन्छ । तर केही समयपछि तपाईंले पहिले ट्वीट गर्न आँटेको कुरा वा फुरेका शव्दहरु बिर्सिनुहुन्छ । जसका कारण तपाईंले ट्वीटमा व्यक्त गर्न चाहेको महत्वपूर्ण विषय समेत फासफुस हुन्छ ।

तर अबचाहिँ यस्तो हुने छैन । किनकी माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका लागि दुई नयाँ फिचर ल्याएको छ । जसको सहयोगमा अब ट्वीटर प्रयोगकर्ताले आफूलाई विषय फुरेको बेला लेखेर मन लागेको बेला ट्वीट गर्न सक्नेछन् ।ट्वीटरमा अब प्रयोगकर्ताले आफ्नो ट्वीट आफूलाई इच्छा लागेको बेला पोष्ट गर्नेगरी समय तालिकामा राख्न अर्थात् ‘सेड्युल’ गर्न सक्नेछन् । त्यसका अलावा ट्वीटलाई ड्राफ्टमा पनि सेभ गर्न सकिनेछ र पहिले लेखिएको कुनै पनि कुरालाई ट्वीट गर्न सकिनेछ । नयाँ फिचर्सका बारेमा जानकारी दिँदै ट्वीटरले भनेको छ, अब वेब भर्सनमा ट्वीटर प्रयोगकर्ताले आफूलाई मन लागेको बेला ट्वीटलाई सेड्युल गर्न सक्नेछन् ।

कसरी गर्ने ?

यसका लागि ट्वीट गर्ने समय कम्पोज विन्डोमा तलपट्टि अन्य आइकन्ससँगै एक क्यालेन्डरको आइकन पनि देखिनेछ । त्यसमा क्लिक गरेपछि ट्वीट सेड्युल गर्न सकिनेछ । स्मरण रहोस् ट्वीटरले गत वर्ष नोभेम्बरमै सेड्युल ट्वीट फिचर परीक्षण गरिरहेको जानकारी दिएको थियो । त्यही फिचरलाई उसले आधिकारिक रुपमा लञ्च गरेको हो । त्यस्तै आफ्ना ट्वीटलाई ड्राफ्टको रुपमा सुरक्षित राख्ने नयाँ फिचर पनि प्रयोगकर्ताका लागि निकै उपयोगी हुने देखिन्छ । यदि तपाईंले कुनै ट्वीट अहिल्यै नगरी केही समयपछि गर्न चाहनुहुन्छ भने ट्वीट फुरेको बखत लेखिहालेर त्यसलाई ड्राफ्टमा राख्न सक्नुहुन्छ । यसका लागि ट्वीट कम्पोज गर्दा लेखिने कम्पोज विन्डोको माथि वायाँपट्टि देखिने क्रस आइकनमा क्लिक गर्नुपर्दछ । त्यसो गरिसकेपछि लेखेका कुरालाई ड्राफ्टमा सेभ गर्ने अप्सन आउनेछ र सोही अप्सनमा क्लिक गरेर आफूले अहिले लेखेका कुरालाई भविष्यमा ट्वीट गर्नका लागि सुरक्षित राख्न सकिन्छ ।

पुरानो ड्राफ्टलाई ट्वीट गर्नका लागि केबल कम्पोज विन्डो खोले पुग्दछ । त्यसपछि माथि दायाँपट्टि रहेको Unsent Tweets अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि आफूले सेभ गरेका सबै ड्राफ्ट देखा पर्दछन् । तपाईंले ती ड्राफ्टबाट जुनसुकै छानेर सम्पादन समेत गरी ट्वीट गर्न सक्नुहुन्छ । ट्वीटरले उपलब्ध गराएका यी दुई फिचर करोडौँ ट्वीटर प्रयोगकर्ताले निकै नै मन पराउने पक्का छ । तर दुःखको कुरा यी नयाँ फिचर ट्वीटरको एन्ड्रोइड तथा आइओएस एपमा उपलब्ध छैनन् । तत्कालका लागि ट्वीटरको वेब भर्सनमा मात्र यी फिचरहरु प्रयोग गर्न सकिने ट्वीटरले जनाएको छ । –एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>