अन्तरर्वार्ता

कलाकारिता सबैभन्दा असुरक्षित पेशा होः राजेश हमाल

नायक राजेश हमालले कलाकारिता सबैभन्दा असुरक्षित पेशा रहेको बताएका छन् ।

हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुरा गर्दै हमालले कलाकारिताको थालनी जोसुकैले गरेपनि यसमा निरन्तरता दिईरहने, करिअर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न सक्ने कुनै ग्यारेन्टी नभएको बताए ।‘मलाई धेरै नयाँ भाईबहिनीहरुले म कलाकारितामा आउन चाहान्छु । चलचित्रमा आउन चाहान्छु त्यसका लागि के गर्नुपर्छ दाई भन्नुहुन्छ’ उनले भनेका छन्–‘मैले उहाँहरुलाई कलाकारिता भनेको नेपालमा मात्र नभएर विश्वमै असुरक्षित पेशा रहेको बताउँछु ।’हमालले कलाकारितामा लागेर सफलता हासिल हुन्छ, करिअर बन्छ, जिविकोपार्जन लामो समयसम्म गरिरहन सकिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको सुझाव आफूले दिने गरेको बताए ।

चलचित्रमा व्यस्तताकै समयमा आफू स्वयंमले समेत असुरक्षित महशुस गर्दै काम गरेको हमालले स्मरण गरे । उनले भनेका छन्–‘यो वर्ष त म चलेँ । अब अर्को वर्ष चल्छु कि चल्दिनँ भनेर सधै असुरक्षित महशुश हुन्थ्यो ।’ उनले पहिलो चलचित्र भव्यताका साथ रुचाईए पनि दोस्रो चलचित्र सोही अनुसार रुचाइन्छ भन्ने कुनै ग्यारेन्टी नहुने बताए । ‘धेरै कलाकारहरु भव्यताका साथ आउने । पहिलो चलचित्र दर्शकले पनि रुचाउने, त्यसपछि दोस्रो चलचित्र केही कम रुचाउने, तेस्रो चलचित्र नरुचाउँने हुँदै हराएका छन्’ उनले भने । पहिलो चलचित्रमा काम गरिरहँदा आफूले दोस्रो बाटोबारे पनि सोच बनाएको उनले स्मरण गरेका छन् ।

‘नायक नबनेको भए राजेश हमाल के बन्नुहुन्थ्यो होला ?’ भन्ने प्रश्नमा हमालले भनेका छन्–‘यसमा सफल भइनँ भने यसमा जान्छु भन्ने ठोस योजना भन्दा पनि यसमा सफल नभए समय वर्वाद गर्नु हुँदैन्, मैले आफ्नो जीवनका लागि अर्को बाटो अपनाउनुपर्छ भन्ने सोच्थेँ । अर्को बाटो तय भएको थिएन तर, त्यसका लागि केही औजार र तयारी त थियो । केही देश विदेशको अनुभव थियो । केही शिक्षा हासिल गरेको थिएँ । बुवा कुटनितिज्ञ हुनुहुन्थ्यो ।’ चलचित्र क्षेत्र असुरक्षित भएकै कारणले पनि आफ्नो परिवारले सुरुका दिनमा यो पेशाप्रति सकारात्मक सोच नबनाएको राजेशले बताएका छन् ।

आफूले बुबासँग गरेको वाचा संझदै हमालले अन्तरवार्तामा भनेका छन्–‘मैले बुबालाई २–३ बर्ष समय दिन भनेको थिएँ । यदि यो क्षेत्रमा सफल भइनँ भने बुबाले नै भनेको मान्छु भनेर वाचा गरेको थिएँ ।’ तर, हमालले दुई–तीन वर्ष कुर्नुपरेन । पहिलो वर्षबाटै उनको चर्चा, व्यस्तता यसरी भयो कि उनले कहिल्यै फुर्सद पाएनन् । हमालले आफ्नो कलाकारिता यात्रा संझिएर आफै अचम्मित हुने गरेको बताएका छन् । कुराकानीका क्रममा हमालले तत्काल राजनीतिमा आउने बिषयमा आफ्नो कुनै पनि सोच नभएको पनि स्पष्ट पारेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>