चर्च ब्वाइजको अर्को शानदार जित

१७ पुस, पोखरा। आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेशका लागि आइतबार दुई च्याम्पियन मैदान उत्रिएका थिए- मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड।
मच्छिन्द्र ०७८ को ए डिभिजन लिग च्याम्पियन टिम हो भने चर्च ब्वाइज बी डिभिजन च्याम्पियन बन्दै गएको चैतमा मात्रै ए डिभिजन उक्लेको थियो। दुवै टिम ‘लिग च्याम्पियन’ मात्रै थिएनन्, पहिलो पटक मैदानमा आमनेसामने भएका थिए। तर दुई च्याम्पियनबीचको स्पर्धामा चर्च ब्वाइजले बाजी मार्यो। चर्च ब्वाइजसँग ३–१ ले पराजित भएपछि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
चर्च ब्वाइजको जितमा निर्णायक रहे, आशीष चापागाईं र आशिष चौधरी। दुवै बी डिभिजनमा राम्रो अनुभव बटुलेका खेलाडी हुन्। चापागाईंले २२ औं र ४६ औं मिनेटमा २ गोल गरेका थिए भने आशिष चौधरीले खेलको ६५ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता तेब्बर बनाएका थिए। पहिलो हाफमै व्यक्तिगत दुई गोल गरेका चापागाईं बी डिभिजन लिगको उच्च गोलकर्ता पनि हुन्। खेलको २२ औं मिनेटमा चर्चका बिकु राईको लामो पासलाई पहिले अञ्जन विष्टले हेडिङ गरे पनि गोल रक्षक विशाल श्रेष्ठले सुरक्षित गर्न कोसिसमा थिए। तर, उनको हातबाट बल फुत्किएको मौकालाई अवसरमा बदल्दै चापागाईंले गोलमा परिणत गरे।
चापागाईंको दोस्रो गोलमा आशिष चौधरीले असिस्ट गरेका थिए। उनले खेलको ४६ औं मिनेटमा चौधरीको पासलाई विपक्षी पोस्ट जाली चुमाएका हुन्। पहिलो हाफमा थपिएको अतिरिक्त ३ मिनेटको सुरुआतमै पाएको अवसरलाई उनले गोलमा बदले। खेलको ६५ औं मिनेटमा आशिष चापागाईंको असिस्टमा आशिष चौधरीले गोल गरेका हुन्। चापागाईंको क्रस पासलाई क्यास गर्र्दै चौधरीले सुन्दर फिनिसिङ दिए। चापागाईं खेलको म्यान अफ द म्याच घोषित भएका छन्।
अघिल्लो पटक सेमिफाइनलसम्म यात्रा तय गरेको मच्छिन्द्र यस पटक भने क्वाटरफाइनलमै रोकिएको छ। पहिलो हाफमा पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा मच्छिन्द्रले लज्जास्पद हार व्यहोर्नुपर्यो। दोस्रो हाफमा भने मच्छिन्द्रलाई चर्च ब्वाइजले दबाबमा राखेको थियो। खेलको ८८ औं मिनेटमा शौरभ सुब्बाले मच्छिन्द्रका लागि सहानुभूति गोल गरे। उनले अभिषेक गुरुङको असिस्टमा खेलको अन्तिममा गोल फर्काएका हुन्। शौरभ र गुरुङ दुवै मध्यान्तरपछि मैदान प्रवेश गरेका थिए।