वैशाख अन्तिमसम्म प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जाने तयारी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए। ‘प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको निम्तो आइसकेको छ। भ्रमण गर्ने भए पनि दुई देशको तर्फबाट तयारी गर्नुपर्ने हुन्छ’ ती सचिवालय सदस्यले भने, ‘परराष्ट्र मन्त्रीले आज शपथ लिनुभयो। यो महिनाको अन्तिमसम्म प्रधानमन्त्री ज्यूको भारत भ्रमण हुनसक्छ।’
प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भनिए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नजिकिएको उपनिर्वाचनका कारण ढिलाइ भएको सचिवालयका ती सदस्यले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको छ। आइतबार शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताएका छन्। आफूले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा लाग्ने साउदले बताए।