राजनीति

प्रधानमन्त्री साथै मन्त्री सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् । ‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ।

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने उनले बताए । जति पनि ठूला काण्ड भए जोजो त्यसमा जिम्मेवार छन् । उनीहरूले कहीं न कहीं दण्ड पाउनुपर्छ भन्ने हुनुपर्ने उनले बताए । ‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’

सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने थापाले बताए । सहकारीबाट अर्बौं रकम खानेहरू केही समय अघिसम्म विज्ञका रुपमा भाषण गर्दै हिंडेको देखेको उनले बताए । ‘खाएर जाने मान्छेहरूलाई हेर्ने त निकाय बनेको छ । विभिन्न अड्डाहरू छन् । तर कसैले पनि हेर्दैनन्,’ महामन्त्री थापाले भने । राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालपछि अनियमितामा मुछिएकाहरूको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेको छ । कांग्रेस महामन्त्री थापा र विश्वप्रकाश शर्माले उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस तयार रहेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>