मनाेरञ्जन

स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं। अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन्।

सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो। जसअनुसार अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ प्रदान ग¥यो। काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरे। उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो। यस कार्यक्रम अन्तर्गत परिचयपत्र प्राप्त गर्ने १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो। बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरिप्रसाद रिमाल, लेखक तथा निर्देशक चेतन कार्की, कलाकार शुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भइसकेको थियो।

चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा १ लाख रुपैयाँ प्राप्त गर्न सकिने भएको छ। राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न आग्रह गरे। अहिलेसम्म यस्तो दाबी गर्ने कलाकार अधिकारी मात्रै भएको भन्दै उनले दाबी पेस गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने जनाए। बीमा रकम ग्रहण गर्दै कलाकार अधिकारीले बोर्डलाई धन्यवाद दिए। ‘बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सक्नुहुन्छ,’ अधिकारीले भने।

बोर्ड अध्यक्ष केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए। ‘सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन,’ उनले भने, ‘यति रकमले त केही पनि हुँदैन, यद्यपि यो एउटा सुरुवात हो।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>