समाचार

महासंघको ‘अग्रज अनुहार’ पुस्तक विमोचन अगाडि नै फोनिजको नियन्त्रणमा

२८ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान समितिले विमोचन गर्ने भनेको ‘अग्रज अनुहार’ पुस्तक नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नियन्त्रणमा लिएको छ ।

महासंघले सो पुस्तक विमोचनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, कार्यक्रममा दुवै भिआईपी उपस्थित भएनन् । सो पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई समावेश नगरिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवा: पत्रकार देय दबुले आपत्ति प्रकट गरी विज्ञप्तिमार्फत जारी गरेको थियो ।

आफूहरुको मागलाई नेपाल पत्रकार महासंघले निरन्तर बेवास्ता गरेको र श्रेष्ठ बारेको इतिहास सच्याउन तयार नभएको भन्दै विमोचनका लागि तयार गरिएको पुस्तक नियन्त्रणमा लिनुपरेको फोनिज महासचिव मिलन लिम्बूले जानकारी दिए । ‘पटक पटक इतिहास सच्याउन आग्रह गरेका हौं । तर, महासंघले चोर बाटोबाट पुस्तक छापेर गलत इतिहासलाई नै निरन्तरता दिन खोजेपछि दु:खका साथ विमोचनप्रति नै नियन्त्रणमा लिनुपरेको हो’, उनले भने । महासंघले संस्थापक बारेको विषय टुङ्ग्याउन नचाहँदा समस्या उत्पन्न भएको फोनिज अध्यक्ष गजुरधन राईको भनाई छ । ‘महासंघले आजैबाट संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ बारे अध्ययन अनुसन्धान थालेर निर्क्योल गरेन भने हामी देशव्यापी आन्दोलनमा उत्रन्छौं’, अध्यक्ष राईले भने । भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा पुस्तक विमोचन रोक्न फोनिज र नेवा: पत्रकार देय दबुका पदाधिकारी र सदस्यहरु कार्यक्रममा पुगेका थिए ।

विमोचन कार्यपूर्व महासंघका पूर्व सभापतिहरु किशोर नेपाल, हरिहर विरही, महासंघ अध्यक्ष बिपुल पोखरेल, प्राद्यापक रामकृष्ण रेग्मी, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्का, नेपाल प्रेस युनियनकी उपाध्यक्ष सलोजा दाहाल र सञ्चारिका समूहकी उपाध्यक्ष पबित्रा सुनार ‘सानु’ ले शुभकामना व्यक्त गरेका थिए । वक्ताहरुले महासंघका पूर्व अध्यक्षहरुको योगदान थाहा पाउन र पत्रकारिताको इतिहास बुझ्नका लागि पुस्तक प्रभावकारी हुने भन्दै पत्रकारिताको इतिहासका सन्दर्भमा उठेका अनेक विषयहरुको तथ्यसम्मत निर्क्योल गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>