
१५ जेठ, काठमाडौं । काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, सर्वस्वलगायतका सजाय माफी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिए ।
राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको छ । यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।




