राजनीति

प्रधानमन्त्री ओलीको ‘स्टेप’मा सर्वसम्मति

३ मंसिर, काठमाडौं । पूर्वनिर्धारित तालिकाअनुसार बुधबार दिउँसो १ बजे बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुपर्ने थियो । तर, सचिवालय बैठककै समयसँग जुधाएर दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्ने खबर प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई दियो ।

ओली पक्षधर नेताहरुले बुधबारको सचिवालय बैठक सार्न र टार्न खोजेको आशंका प्रचण्ड–माधव पक्षका नेताले गरिरहेका थिए । त्यहीबेला क्याबिनेट बैठक र पार्टीको बैठक जुधाइएकोमा घनश्याम भुसाललगायतका केही मन्त्रीले आपत्ति जनाए । अन्ततः प्रधानमन्त्री ओली केही पछाडि हटे र मन्त्रिपरिषद बैठकको तालिका पछि थकेलियो । ओली पक्षका सबै नेताहरु सचिवालय बैठकमा सहभागी भए । कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै लिखित प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए । बालुवाटारमा मंगलबार बसेको ओली पक्षका नेताहरुको भेलाले प्रचण्डको ओली पक्षका नेताहरु शंकर पोखरेल, सूर्य थापा, गोकुल बास्कोटा लगायतको ‘स्टाटस’ लाई आधार मान्ने हो भने त प्रचण्डले प्रस्ताव फिर्ता नलिँदासम्म बैठक त के, प्रचण्ड–माधव पक्षसँग सम्वादै नहुनेजस्तो देखिएको थियो ।प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी हुनुको अर्थ नहुने निश्कर्ष निकालेको थियो ।

ओली पक्षका नेताहरु शंकर पोखरेल, सूर्य थापा, गोकुल बास्कोटा लगायतको ‘स्टाटस’ लाई आधार मान्ने हो भने त प्रचण्डले प्रस्ताव फिर्ता नलिँदासम्म बैठक त के, प्रचण्ड–माधव पक्षसँग सम्वादै नहुनेजस्तो देखिएको थियो । तर, बुधबार प्रधानमन्त्री ओली संयमित एवं सकारात्मकरुपमा प्रस्तुत भए । उनले एक कदम पछाडि सर्दै प्रचण्डको प्रस्तावको जवाफ दिन तयार रहेको सचिवालय बैठकमा बताए । अन्ततः प्रधानमन्त्री ओलीको यो ‘स्टेप’ लाई सचिवालयले सर्वसम्मतिले स्वीकार गर्दै जवाफी प्रस्ताव तयार पार्नका लागि १० दिनको समय दिने सर्वसम्मत निर्णय गर्‍यो । बुधबार बसेको सचिवालय बैठकले मंसिर १३ गते सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । र, १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव पेस गर्ने सर्वसम्मति जुटेको छ ।

सचिवालयको बैठकपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले अनलाइनखबरसँग प्रशन्न मुद्रामा प्रतिक्रिया दिँदै भने, ‘आजको बैठक आफूलाई लागेका कुराहरु भन्दै शान्त र सौहाद्रपूर्णरुपमा सकियो । आजको बैठकमा राम्रो संकेत देखिएको छ ।’ त्यसैगरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बुधबारको बैठकले पार्टीलाई सकारात्मक मोड दिएको बताए । श्रेष्ठले भने, ‘आज अध्यक्ष कमरेड केपी शर्मा ओलीले म अर्को प्रस्ताव ल्याउँछु भनेर भनिसकेपछि त्यो अत्यन्तै सकारात्मक कदम हो, त्यसलाई हामीले स्वागत गर्नुपर्छ । अब पार्टीमा व्यवस्थित छलफल र बहस हुने भयो ।’ सचिवालयका नेताहरुले दिएको जानकारीअनुसार बैठकको प्रारम्भमा कार्यकारी अध्यक्ष प्रचण्डले ‘तपाईंले केही कुरा राख्नोस्’ भनेर अध्यक्ष ओलीतर्फ इशारा गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले आफ्ना कुराहरु राख्दै प्रचण्डको प्रस्ताव कुन राजनीतिक प्रस्ताव नभएर आफूमाथिको आरोपपत्र मात्र भएको बताए । बैठकमा उनले भने, ‘यो आरोपपत्र हो, म यसलाई खारेज गर्छु ।’

रातो ज्याकेट लगाएर बैठकमा सहभागी भएका प्रधानमन्त्री ओलीले पार्टी एकता जोखिममा परेको बताउँदै एकता जोगाउनुपर्ने बैठकमा धारणा राखे । प्रचण्डले लगाएका आरोपहरुको जवाफमा आफूले अर्को प्रस्ताव ल्याउन चाहेको बताउँदै उनले त्यसका लागि समय मागे । ‘तपाईलाई कति समय चाहिन्छ ? एक हप्ताले पुग्छ ?’ प्रचण्डको प्रश्नमा ओलीले त्योभन्दा बढी समय चाहिने बताए । अन्ततः बैठकले ओलीलाई १० दिन समय दिने निर्णय गर्‍यो । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावको जवाफ बैठकमै दिने बताएपछि सचिवालयका सबै नेताहरु खुशी भएका छन् । उनीहरुले प्रधानमन्त्रीको यो कदमले पार्टीभित्रको बहसलाई व्यवस्थित गराउने प्रतिक्रिया दिएका छन् । बैठकमा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र हुने विवाद र बहसहरुलाई बैठकबाटै निश्कर्षमा पुर्‍याउनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउनु सकारात्मक भएको बताए ।

अर्का नेता वामदेव गौतमले पार्टीमा हुने बहस छलफलमा यस्ता आरोपहरु लाग्नु स्वाभाविक भएको बताउँदै विगतमा पूर्वएमालेमा पनि त्यस्तो हुने गरेको स्मरण गरे । प्रधानमन्त्रीले पनि प्रस्ताव ल्याउनु सकारात्मक भएको गौतमले बैठकमा बताए । बैठकमा आफ्नो धारणा राख्ने क्रममा बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले समय माग्दा दुई–तीन दिन बढी नै दिन सकिने तर, समय लम्ब्याएर अरु–अरु कामतिर लाग्न नहुने बताए । बैठकको समय लम्ब्याएर अरु काम गर्ने गरिएको भन्दै त्यसरी बैठकलाई लम्ब्याउनु उचित नहुने नेता नेपालको भनाइ थियो । तर, प्रधानमन्त्रीले प्रस्ताव ल्याउन समय मागेकोमा पर्याप्त समय लिँदा हुने उनको भनाइ थियो । सचिवालय बैठकमा बोल्दै अर्का नेता ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव आरोप पत्र नै भएको बताए । तर, त्यसको जवाफ प्रधानमन्त्रीले दिने भन्दै पोखरेलले त्यसका लागि समय दिनुपर्ने बताए ।

बैठकमा बोल्दै महासचिव विष्णु पौडेलले पार्टीभित्र देखिएका समस्याहरु स्थायी कमिटीमा लानुभन्दा सचिवालयमै समाधान गरिनुपर्ने बताएका थिए । उनले के सचिवालयका नेताहरु अयोग्य भइसक्यौं र ? भन्ने प्रश्न उठाएका थिए । अर्का सचिवालय सदस्य रामबहादुर बादलले छोटो धारणा राख्दै ‘प्रधानमन्त्रीलाई प्रस्ताव तयार पार्न १० दिन समय दिउँ’ भनेका थिए । त्यस्तै अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले प्रस्ताव ल्याउने भनेपछि अब व्यवस्थित छलफल हुने बताए । अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावको जवाफमा अर्को प्रस्ताव ल्याउने निर्णय गर्नु सकारात्मक र स्वागतयोग्य कदम भएको प्रवक्ता श्रेष्ठले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>