माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ।
शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो। तर, त्यसको निर्णय भने अहिले बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ। सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ। शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो।
महाधिवेशनको उद्घाटन आज हुँदै छ। चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ। महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ। महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ।
महाधिवेशन उद्घाटन अपराह्न ३ बजे हुनेछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ।




