राजनीति

हितबहादुर तामाङलाई दुप्चेश्वरका जनताले जुटाए चुनाव खर्च

नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक सरगर्मी अहिले उत्कर्षमा पुगेको छ । चिसो सिरेटो चल्ने दुप्चेश्वरका अग्ला लेकदेखि सूर्यगढीका उर्वर बेँसीसम्म अहिले एउटै नामको चर्चा छ— विकासप्रेमी र सादगी नेता हितबहादुर तामाङ। आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा होमिनुभएका तामाङको पक्षमा देखिएको जनलहरले जिल्लाको राजनीतिमा नयाँ आयाम थपेको छ ।

दुप्चेश्वर गाउँपालिकामा सञ्चालित दुई दिने ‘घरदैलो अभियान’ केवल मत माग्ने औपचारिक कार्यक्रम मात्र रहेन, यो जनता र नेताबीचको भावनात्मक मिलन जस्तो देखियो। बालकुमारी, काम्चोक, र निगालेका बस्तीहरू छिचोल्दै जिमनाङ्ग र बेतिनी पुग्दा मतदाताहरूले हितबहादुर तामाङलाई फूलमाला र खादाले मात्र होइन, आफ्नै परिवारको सदस्यलाई झैँ आत्मीय स्वागत गरे । स्थानीय आमाहरूले आफ्नै भान्सामा पाकेको खाजा र ढिँडो-रोटी खुवाउँदै उहाँको विजयका लागि आशिर्वाद दिएको दृश्य निकै मार्मिक थियो। भूगोलको कठिन यात्रा गर्दै सानोगोल्फु, पुरगाउँ, र छेपार हुँदै राउतबेसी र हुङ्गसम्म पुग्दा नेता तामाङले जनताका साना-तिना पिरमर्कालाई नजिकबाट सुन्नुभयो ।

राजनीतिमा नेताले पैसा बाँड्ने पुरानो संस्कारलाई चुनौती दिँदै दुप्चेश्वरका जनताले एउटा नयाँ उदाहरण पेस गरेका छन् । ओडारे र घ्याङफेदीका विकट बस्तीदेखि शिखरबेशी, रामति र समुन्द्रटारसम्मका सातवटै वडाका बासिन्दाले स्वतःस्फूर्त रूपमा चुनाव खर्च संकलन गरेर नेता तामाङलाई हस्तान्तरण गरेका छन् । “नेता त धेरै आए, आश्वासन पनि धेरै बाँडे, तर हितबहादुर जस्तो सादगी र सधैं जनताको काममा दत्तचित्त हुने नेता हामीले पाएका छैनौँ। उहाँ हाम्रो सम्पत्ति हो, त्यसैले उहाँलाई जिताउन हामी आफैँले खर्च जुटाएका हौँ,” स्थानीय एक वृद्धले भावुक हुँदै बताए ।

दुप्चेश्वरमा जनलहर उर्लिरहँदा सूर्यगढी गाउँपालिका वडा नं. १ (साबिक लच्याङ–५) मा पनि चुनावी तयारीले ठोस रूप लिएको छ । निर्वाचन परिचालन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारको अध्यक्षतामा बसेको महत्वपूर्ण बैठकले टोल-टोलमा ‘घरदैलो तथा जनभेटघाट अभियान’ लाई आक्रामक ढङ्गले अगाडि बढाउने निर्णय गरेको छ । बैठकका प्रमुख अतिथि एवं नेकपा बागमती प्रदेश समिति सदस्य राजकुमार तामाङ ‘रञ्जित’ ले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ मैदानमा उत्रन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “अबको लडाइँ विकास र निकासको हो । अधुरा काम पूरा गर्न र नुवाकोटमा परिवर्तनको जग बसाल्न हितबहादुर तामाङको जित अनिवार्य छ।”

एकजुट हुँदै कार्यकर्ता, टोल-टोलमा रणनीति सूर्यगढीको बैठकमा विशेष अतिथिहरू सुरज तामाङ र रविन्द्र तामाङका साथै माइली माया तामाङ, पूर्णसिंह तामाङ, फूलमाया तामाङ, प्रकाश तामाङ र निशान्त तामाङ लगायतका नेता-कार्यकर्ताहरूले प्रत्येक घरको ढोकामा पुगेर ‘तारा’ चिन्हको महत्व र पार्टीको एजेन्डा बुझाउने प्रतिबद्धता जनाएका छन् । हितबहादुर तामाङको सादगी, विगतको विकास निर्माणमा उहाँको योगदान र आगामी स्पष्ट कार्ययोजनाले दुप्चेश्वर र सूर्यगढीका जनतामा ठूलो भरोसा जगाएको छ ।

“अधुरा काम पूरा गर्न, नयाँ इतिहास कोर्न” भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले आगामी फागुन २१ गते नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा ‘तारा’ चिन्हको पक्षमा सुखद परिणाम आउने सङ्केत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>