समाचार

कार्यालय र क्वार्टरमा एलपी ग्याँस प्रयोग नगर्ने : विद्युत् प्राधिकरण

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आफ्ना सबै कार्यालयहरुबाट खाना पकाउने एलपी ग्याँस विस्थापन गर्ने निर्णय गरेको छ।

प्राधिकरणले आफ्ना कार्यालय र आवासीय भवनहरुबाट ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग गर्न आफू मातहतका सबै कार्यालय, आयोजना र कम्पनीहरुलाई निर्देशन दिएको छ। सरकारी कार्यालहरुबाट सबै ग्याँस सिलिन्डर विस्थापन गर्ने सरकारी नीति अनुरुप प्राधिकरणले आफ्नै कार्यालयहरुबाट ग्याँस विस्थापनको काम सुरु गरेको विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए। ‘सबैलाई तुरुन्तै ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग थाल्न परिपत्र भएको छ, अब प्राधिकरणअन्तरगतका कुनै पनि कार्यालय र इकाइले एलपी ग्याँस प्रयोग गर्दैनन्,’ उनले भने। आगामी आर्थिक वर्षको बजेटले सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था घोषणा गरेको छ।

‘आगामी ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिन्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ। सरकारको यही घोषणाका आधारमा विद्युत प्राधिकरणले सबै वितरण केन्द्रहरुलाई सम्बन्धित सरकारी कार्याहरु रहेको क्षत्रेको वितरण प्रणाली चुस्त दुरुस्त राख्न पनि निर्देशन दिएको छ। ‘विद्युतीय चुलको प्रयोग गरेपछि प्रणालीलाई थप विश्वसनीय बनाइराख्नुपर्छ, कतिपय ठाउँमा स्तरोन्नति र सुधार गर्नुपर्ने हुनसक्छ,’ उनले भने,‘वितरण केन्द्रहरुलाई सरकारी कार्यालय एलपी ग्यासरहित हुँदा प्रणालीका सबस्टेसन, तार र ट्रान्स्फर्मरमा गनुपर्ने स्तरोन्नतिको काम गर्न भनेका छौं
।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>