अर्थ खबरकृषि

लकडाउअघि र पछि कुखुराको मासुको मूल्यअन्तर

२ असार, काठमाडौं । लकडाउन खुकुलो भएपछि बजारमा कुखुराको मासु अभाव हुन थालेको छ । काठमाडौंसहित देशभरका ठूला सहरका खुद्रा पसलहरुमा तयारी मासुको अभाव भएको र मूल्य पनि बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

बजारमा कुखुराको मासुको प्रतिकिलो तयारी मासुको मूल्य ३ सय ६० रुपैयाँ पुगेको छ । लकडाउनअघि कुखुराको मासुको मूल्य २४० रुपैयाँ प्रतिकिलो थियो ।मागको तुलनामा उत्पादन कम हुँदा बजारमा केही समस्या देखिएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । लकडाउनका कारण भविष्यको बजारबारे कृषकले अनुमान गर्न नसक्दा उत्पादन खुम्चीएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । ‘लकडाउन अवधिमा किसानले कुखुरा नपाल्दा ४० प्रतिशत मात्रै उत्पादन भईरहेको छ, ठूलो समस्या आइसकेको त होइन तर प्रशस्त उत्पादन छैन,’ अध्यक्ष बिसीले भने ।

लकडाउनले कुखुरा पालक कृषक त्रसित भएको र दाना, चल्ला भएर पनि किसानको खोरसम्म पुर्‍याउन नसक्दा अब समस्या देखिन थालेको उनले बताए । किसानले कुखुरा पाल्न नसक्दा लकडाउन अघिको तुलनामा झण्डै एक सय रुपैयाँ प्रतिकिलोको दरले मूल्य बढेको संघले जनाएको छ । लकडाउन खुकुलै हुँदै गएर होटल रेष्टुराँ पनि चल्न थाल्यो भने मासु अभाव चर्कने र मूल्य पनि बढ्न सक्ने संघले जनाएको छ । ६० प्रतिशत मासु होटल, रेष्टुराँ र ४० प्रतिशत नियमित उपभोक्ताले किन्ने गरेका छन् । कम उत्पादनको असर देशभर देखिन थालेको पनि संघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>