अन्तराष्ट्रिय

चीन र भारतको भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ ।

झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।

तर सोमबार राति गोली हानाहान भएको छ । भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ । चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका हुन् ।

उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको उनले बताएका छन् । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताइनन् ।अनलाइनखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>