राजनीति

ओली सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् ।

कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा सोमबार बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्यो । अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन ।’

‘बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ ?,’ उनले प्रश्न गरे, ‘हामीले स्थिर सरकार दिन्छौं भन्नु भएको थियो, अहिले ११, १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थीरता यही हो ?’ कोरोनाको महामारीमा सरकार न्यूनतम कामसमेत गर्न नसकेको उनको आरोप छ ।
सिंहले भने, ‘त्यतिमात्र होइन कोरोनाको महामारी छ, सरकार न्यूनतम काम समेत हामी गर्न सक्दैनौं भनेर पछि हट्दै गइरहेको छ । यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन् ।’

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले आजै बिहान ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह अस्पताल पुगेर आफ्नो एक महिना बराबरको तलब अस्पताललाई दिएका छन् । हस्पिटलले आजै बाट कोरना उपचार तथा परिक्षण सुरु गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>