बागमती प्रदेशराजनीति

पहिलोपटक जनजाति महिला नगरप्रमुखको रुपमा निर्वाचित

काठमाडाैं। बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ। महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ।

संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैले नेतासमेत मानेका चलनचल्तीको भाषामा‘हेभिवेट उम्मेदवार’लाई पराजित गरेर नयाँ इतिहास कायम गर्ने सुअवसरसमेत प्राप्त भएको छ मीना लामालाई। सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मीना निर्वाचित हुनुभएको हो। सत्तारुढ गठबन्धनको भागबण्डामा हेटौँडा उपमहानगर एकीकृत समाजवादीको हातमा परेको थियो । निर्वाचन अगाडि कम मत भएको जस्ता टिप्पणी गरिएको थियो। गठबन्धनका तर्फबाट इमान्दार प्रयास, व्यवस्थित निर्वाचन परिचालनलगायत कारणले लामाले जित निकाल्नुभएको हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सहयोगमा भएको विजयले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्पलाई पूरा गर्ने विश्वास गरिएको छ। उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उहाँले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहोर्याउनुभएको छ। उहाँले उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने बिश्वास बताउनुभएको हो।

नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गर्नुभयो। महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्र्वजनिक शौचालय बनाउने र उक्त शौचालयहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने र बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने उहाँको योजना छ । त्यसका साथै हेटौँडामा महिला नगर परिषद् गठन गर्ने, दलित, बिपन्न, जनजाति तथा पिछडिएका महिलाका लागि सीपमूलक एवं आयआर्जनमुखी कार्यक्रम ल्याउनुका साथै प्राविधिक शिक्षादेखि स्नातक शिक्षासम्म छोरी–बुहारीहरूलाई अनिवार्य अध्ययन गराउनका लागि छात्रबृत्तिको व्यवस्था गरिने जानकारी दिनुभयो ।

सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने योजनासमेत नगरप्रमुख लामाले सुनाउनुभयो। नगरलाई बालमैत्री बनाउँदै घोषणा गर्ने सपना उपप्रमुख हुँदैमा देखेकाले त्यो कार्य पूरा गर्ने उहाँको भनाइ छ। विपन्न छात्राहरूका लागि स्नाकोत्तरसम्म अध्ययन गराउने त्यसका लागि छात्रावाससमेत बनाउने उहाँको योजना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>