विराटनगरको धमाका, सुदूरपश्चिम ३५ रनले हार्यो
पाँच ओभरको खेलमा विराटनगरको धमाका, सुदूरपश्चिम ३५ रनले हार्यो

नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले वर्षाले प्रभावित खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । शनिबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
वर्षाका कारण २० ओभरको खेललाई पाँच ओभरमा छोट्याइएको थियो । दिनभरको वर्षाले आउटफिल्डमा पानी जमेपछि खेल हुने वा नहुने अन्योल थियो । मैदानको खराब अवस्थाका कारण सुदूरपश्चिमले सुरुमा खेल्न अस्वीकार गरेको थियो। लामो छलफलपछि क्यान सचिव पारस खड्कालगायतको पहलमा टोली खेल्न तयार भयो ।
ग्राउन्ड स्टाफको निरन्तर मेहनतपछि मैदान खेल्नयोग्य बनाइएको थियो । छोटो खेलका लागि बाउन्ड्रीको आकार पनि केही घटाइएको थियो । राति ९ बजेर २० मिनेटमा सुरु भएको खेल हेर्न त्रिवि मैदानमा हजारौँ दर्शक उपस्थित थिए । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध विराटनगरले आक्रामक ब्याटिङ गर्दै पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनायो ।
विराटनगरका शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । जयसूर्या र लोकेशले पहिलो विकेटका लागि २.४ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए । उनले लोकेशसँग दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । सुदूरपश्चिमका अभिनाश बोहराले दुई विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुमै दुई महत्वपूर्ण विकेट गुमायो । आन्द्रे रसेलले पहिलो बलमै शेर्फेन रदरफोर्डलाई बोल्ड गरे । त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी एक रन बनाएर आउट भए । एन्जेलो म्याथ्युजले उनलाई रुपेश सिंहको हातबाट क्याच गराए । सुदूरपश्चिमले पावरप्लेको पहिलो १.३ ओभरमा सात रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । सैफ जैबले १० बलमा १७ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन् ।
स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै ६ बलमा एक चौका र चार छक्कासहित अविजित २८ रन बनाए । आरिफ शेख पनि ८ बलमा १७ रन जोडेर अविजित रहे । तर उनीहरूको प्रयास सुदूरपश्चिमलाई जित दिलाउन पर्याप्त भएन । विराटनगरका आन्द्रे रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले एक–एक विकेट लिए । रसेलले दुई ओभरमा आठ रन मात्रै खर्चिए ।
वर्षाका कारण दिनको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने प्रतिस्पर्धा भने रद्द भएको थियो ।




