शिक्षा

‘अपेन डाइनामिक लिडर अवार्ड’ आयोजना हुदै

काठमाडौँ – प्रिस्कुल, मन्टेश्वरी किन्डरगार्डन लगायतका संस्थाहरूको छाता संगठन (अपेन) को आयोजनामा अपेन डाइनामिक लिडर अवार्ड कार्यक्रम आयोजना हुने भएको छ। एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन) ले आज रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी गराइएको हो।

पौष २४ गते राष्ट्रिय पर्यटन बोर्डको सभा हलमा आयोजना हुने कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ भने उनले अपेनका सदस्यहरूलाई सम्मान पनि गर्नेछन्। कोरोना महामारी र यस्तै अन्य चुनौतीहरू सँग निरन्तर जुधेर पनि बालबालिकाको शिक्षाका लागि क्रियाशील भएकाले आफूहरूले अपेनका सदस्यहरूलाई सम्मानित गर्न लागेको अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहराले बताए। अपेनले देशै भरिका सदस्य विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीलाई व्यवस्थापन तथा अभिमुखीकरण तालिम निःशुल्क सञ्चालन गर्दै आइरहेको छ भने पाँच वर्ष मनिका बालबालिकाहरूलाई विभिन्न अतिरिक्त कियाकलापहरुमा सहभागी गराउँदै आएको छ।

पत्रकार सम्मेलन पछि वितरण गरिएको प्रेस विज्ञप्तिमा विगत लामो समयदेखि कोरोनाको प्रभावले आर्थिक रूपमा जीर्ण बनेका अपेनका सदस्य संस्थाहरूलाई फेरि माथि उठाउनको लागि संस्थाले विभिन्न प्रयासहरू गर्दै आइरहेको उल्लेख छ। अपेन केन्द्रीय कार्यसमितिका अध्यक्ष बद्रि प्रसाद दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोनाको महामारीबाट बाचेर आफ्नो संस्थालाई जोगाउँदै फेरि निरन्तर कार्य क्षेत्रमा फर्किएका प्रिस्कुल मन्टेश्वरीका प्रिन्सिपलहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। उक्त कार्यक्रममा देशभरिका करिब चार सय मन्टेश्वरी तथा प्रिस्कुलहरुको सम्मान हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

अपेन संस्थागत रूपमा मन्टेश्वरी स्कुलहरूको हकहित र नीति निर्माण तहमा समेत पैरवी गर्दै आएको संस्था हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>