राजनीति

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

२८ पुस,काठमाडौं। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ। प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

स्रोतका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने थियो, अहिले त्यसकै गृहकार्य भइरहेको छ।’ प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>