
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले केही दिनयता देशका विभिन्न ठाउँंमा भइरहेका विरोध प्रदर्शनलाई केपी ओली नेतृत्वको सरकारको असफलताप्रतिको जनआक्रोश र असन्तुष्टिका रुपमा अथ्र्याएको छ ।
शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरी कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेकै कारण परिस्थिति जटिल बनी नागरिकमा आक्रोश जन्मिएको बताए । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घच्यावटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रुपमा विस्तारित हुने थियो, न त यसरी जनआक्रोश बढ्ने थियो ।’ शर्माले प्रदर्शनमा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न र बल प्रयोग नगर्न चेतावनी दिए । उनले भने, ‘युवाहरुको प्रदर्शनमा तिनै मुद्दाअघि सारिएका छन् । जुन विषयहरु लगातार चार महिनादेखि प्रतिपक्षले मौखिकदेखि लिखित रुपमा उठाउँदै आएको छ र अन्य दल एवं सञ्चारमाध्यमहरुले निरन्तर दबाब दिँदै आएका छन् ।’
पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ्य सामाग्री पर्याप्त व्यवस्था गर्न, क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाउन, विदेशमा अफ्ठयारोमा रहेका नेपालीहरुको यथाशिघ्र उद्धार गर्न काँग्रेसले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस केन्द्रीय समितिको जेठ २६ गतेको बैठकले निर्णय गरेअनुरुप असार २ गते केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र बिदेश स्थित दूतावास मार्फत पनि सरकारलाई एकसाथ बिशेष ज्ञापनपत्र दिने कार्यक्रम तय रहेको शर्माले बताए । सो कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गरेर कोरोना विरुद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई व्यापक दबाब दिन काँग्रेस सबैमा अपील गरेको छ ।




