कृषिप्रदेशराष्ट्रियस्थानीय

सलह भित्री मधेस हुँदै पहाड उक्लियो

१३ असार, काठमाडौं । शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज गर्न थाले । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्राहरू बोट विरुवामा बस्न थालिसकेका थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले अनलाइनखबरसँग भने, ‘अहिले खेतीपातीको समय भएकाले हाम्रो कृषि प्राविधिकहरु फिल्डमै हुनुहुन्थ्यो । उहाँहरुले विहानै देख्नु भएपछि हामीलाई खबर गर्नुभयो ।’लगत्तै जिल्ला कृषि ज्ञान केन्द्र, बारामा खबर पुग्यो । त्यसपछि खटिएको टोलीले नेपालमा सलह भित्रिएको पुष्टि गरेको केन्द्रका प्रमुख जितेन्द्र यादव बताउँछन् । ‘हाम्रो टोलीले हेर्दा पानी परिरहेको थियो र किराहरुको सानो झुण्ड रुखमा बसिरहेको थियो । पानी रोकिएपछि सलहले तरकारी बाली खान थाल्यो ।’

फट्यांग्राकै एक प्रजातिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ । छिमेकी पाकिस्तान र भारतमा किसानलाई दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो । तर मनसुन सुरु भएलगतै नेपालमा प्रवेश मात्र गरेन, एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३०देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा विहानै सलह भेटिएको थियो । सलहको विशाल झुण्ड त्यहाँका बोट विरुवामा झुम्मिएका थिए । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन । बिहान सवा ६ बजेतिर किरा देखिन थाल्यो । अहिले हजारौंको संख्यामा जम्मा भएका छन् । ‘चना, धानका बोटहरु खाँदै छन्, हामीले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गरायौं,’ उनी भन्छन् ।

उनकाअनुसार सलहले गर्ने क्षति कम गर्न स्थानीय र कृषि प्राविधिकहरुले विषादी छर्किनुका साथै थाल ठटाएका छन् । चर्को ध्वनीले सलह किरा भाग्छ ।पर्साको पर्सागढी नगरपालिका-३ बढि्नहारस्थित चैते धानबालीमा शनिबार बिहानै सलहको बथान देखा परेको थियो । खेतमा काम गरिररहेका बेला हजारौंको संख्यामा सलहको बथान आफ्नो १९ कठ्ठाको धानबालीमा आएर बसेको किसान अर्जुन नेपालले बताए । ‘बिहान म खेतमा आली लगाउन आएको थिएँ, अचानक फट्यांग्राको झुण्ड मेरै चैते धानबालीमा आएर बस्यो,’ उनी भन्छन्, ‘धानको डाँठ पनि खान थाल्यो, त्यसपछि बुबा, म र दाइ मिलेर धानबालीमा पसेर बोट हल्लायौं, फटयांग्राको बथान नजिकको जंगल तिर उडेर गयो ।’

सलह किरा रौतहटका विभिन्न पालिकामा देखिएको छ । चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलहको हुल भेटिएको स्थानीयले बताएका छन् । भित्री मधेस हुँदै पहाड उक्लियो तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ । शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार, त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ ।बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए । त्यस क्षेत्रमा दिउँसैबाट कृषि प्राविधिक खटिए । रुपन्देहीमा देखिएका सलह किरा पाल्पा र गुल्मीतर्फ लागेका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै मध्याह्नपछि मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानपुरगढी, वागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सलह देखिएको, तर क्षतिको जानकारी आइनसकेको बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले जानकारी दिए ।

बकैया-१ धियालका कृषक बिरबहादुर स्याङतानले बारी र आकाशमा धेरै संख्यामा सलह देखिएको जानकारी गाउँपालिकालाई दिएका थिए । बकैयाको १, २, ४ र ५ नम्बर वडामा किरा देखिएको छ । बकैयाका केही वडामा देखिएका सलह बागमती गाउँपालिकातर्फ गएको स्थानीयले जानकारी दिएका छन् । मकवानपुरगढी गाउँपालिकाको पालुङटार र सुकौरामा पनि सलह देखिएको छ । त्यहाँका स्थानीयले सलह भगाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।

सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान माइस्थान, करकरे, मुडेखर्क, खुर्सानी डाँडा, चियाबारी, सिमबारी, लामिस्वारा क्षेत्रमा सलहको झुण्ड देखिएका छन् । धानको ब्याडदेखि मकैको बोट र जंगलका रुख विरुवामा सलह भेटिएका छन् । स्थानीय राजवीर विकका अनुसार मध्यान्हपछि एकाएक सलहको हुल देखिन थालेको थियो । स्थानीयले सलह भगाउन थाल र विभिन्न ठूला आवाज निस्कने भाँडाकुडा ठटाएका थिए । काभ्रेको डाँडापारी खानिखोला गाउँपालिकामा पनि सलह किरा देखा परेको छ । यसले शनिबार विहान तराईमा देखिएको सलह भित्री मधेस हुँदै पहाडी जिल्लाहरुमा पुगेको प्रष्ट भएको छ ।

सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>