कृषि

८१ प्रतिशत खेतमा रोपाइँ असारमै भयो

१ साउन, काठमाडौं । देशैभर अघिल्ला वर्ष भन्दा निकै छिटो रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१.५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्म ४०.४९ प्रतिशत भूभागमा रोपाइ भएको थियो । कुल १३ लाख ७१ हजार ०६ हेक्टर रोपाइँ योग्य जमिनमध्ये ११ लाख १९ हजार ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा.हरिबहादुर केसीले बताए ।अघिल्लो वर्ष असार मसान्तसम्म ५ लाख ५५ हजार ४ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष उच्च पहाडमा ७४.७६, मध्य पहाडमा ७५.१२ तथा तराईमा ८४.२१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को रोपाइँ सकिने चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा ९१.८६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कर्णालीमा ८६.८४, प्रदेश ५ मा ८६.६०, गण्डकी प्रदेशमा ८३.६९, बागमतीमा ७२.१०, प्रदेश २ मा ८३.४१ र प्रदेश १ मा ६९.९१ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ ।यस वर्ष धान रोपाइँ छिट्टै हुँदा धान उत्पादन बढ्ने आशा थप भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । धेरै धान फल्ने एक सूचकमध्ये छिटो रोपाइँ पनि एक भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बताउँछन् ।

‘यो वर्ष उत्पादन वृद्धिमा सघाउ पुर्‍याउँछ, डा. केसीले भने । खँडेरी परेका कारण कृषकले बुढो बिउ रोपाइँ गर्दा कम हुने उत्पादनको जोखिम टरेको भन्दै उनले उत्पादन बढाउन अन्य पक्ष पनि ठिक हुनुपर्नेमा जोड दिए । लकडाउनका कारण शहरका मानिस गाउँ गए जाँदा कृषि चक्र समयमै चलेको कृषि विभागको भनाइ छ ।‘यस वर्ष मनसुनले पनि साथ दियो, कृषकहरुले समयमै बीउ राखे काम चाँडै सके’ विभागका प्रवक्ता एवं वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेवप्रसाद पौडेलले भने ।

मनसुनले साथ दिए जस्तै रोग किरा र बाढी पहिरोले असर गरेन भने धान उत्पादन बढ्ने उनको भनाइ छ । अबदेखि वर्षा सामान्य रुपमा भयो भने धान उत्पादन बढ्ने र यसले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उनको भनाई छ । छिटो धान रोपिँदा अन्य कृषि बाली लगाउन पनि सहज हुने र यसले समग्र कृषि चक्रलाई सहयोग पुर्‍याउने विभागको विश्वास छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>