कृषिगण्डकी प्रदेश

धान मासेर किबी खेती धानबाट भन्दा तेब्बर आम्दानी

बलेवा । स्थानीय जातको धान लगाउँदा वर्ष दिनमा पाँचमुरी फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो ।

उनले परम्परागत तरिकाले खेती नै गर्दै आएका थिए । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने धान खेतीबाट भन्दा दोब्बर-तेब्बरसम्म आम्दानी गर्न सकेका छन् ।वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद बनेका छन् ।

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भालेपोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । ‘अहिले झण्डै पाँच क्विन्टल फलेको छ’, महेन्द्र भन्छन्, ‘६०/६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।’ खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् । माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् ।

‘कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन’, उनी भन्छन् । उनको किबी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>