अर्थ खबर

३२५ मेगावाट विद्युत् भारत निर्यातको अनुमति प्राप्त

काठमाडौं। नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्यतु बिक्रीको अनुमति पाएको छ। भारतको विद्यतु मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो।

भारतले यसअघि ३९ मेगावाट विद्युत् मात्रै खरिद गर्दै आएको थियो। अब कुल ३६४ मेगावाट विद्युत् भारतले नेपालबाट खरिद गर्नेछ। नेपालले थप विद्युत् निर्यातको स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमतिबमोजिम जारी भएको ऊर्जा क्षेत्र सहकार्यमा भारत नेपाल संयुक्त भिजन वक्तव्य कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले अब वर्षायाममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत् निर्यात गर्न सहज हुने बताइन्। यसले दुई देशबीचको व्यापार घाटा कम गर्न पनि सहयोग गर्ने उनले बताइन्। ऊर्जा सचिव देवेन्द्र कार्कीले यसअघि ३९ मेगावाट विद्युत् बिक्री गर्न सकिएकोमा अब थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न सकिने बताए। प्रधानमन्त्रीको भ्रमणका क्रममा उत्पादन, प्रसारण र व्यापारमा नै केन्द्रित गरी सहमति भएको उनले बताए। भारतसँगै बचेको बिजुली बंगलादेश निर्यात गर्ने उद्देश्य नै सरकारको भएको उनले बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब नेपाल भारतीय ऊर्जा बजारको जुनसुकै बजारमा जान बाटो खुला भएको बताए। उनले हिउँदमा बिजुली नपुगेपछि अब असार लागेपछि बिजुली बढी हुने र त्यो बिजुली भारतीय ऊर्जा बजारमा बिक्री गर्ने बताए। “करिब २३०० मेगावाट विद्युत् उत्पादन हुन्छ । हाम्रो माग बढीमा २००० मेगावाट पुग्ने अनुमान गरेका छौँ। बाँकी रहेको बिजुली भारतीय बजारमा बेच्ने नै हो,” उनले भने।

भारतले परियोजनाका आधारमा बिजुली खरिद गर्ने उनले बताए। मर्स्याङ्दी, त्रिशुली, देवीघाट, कालिगण्डकी ए, लिखुको विद्युत् भारतले खरिद गर्ने उनले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>