कृषिप्रदेश १

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउन भ्याइनभ्याइ

फुङलिङ,ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राईलाई तिहारको बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैंची उत्पादन गर्दै आएका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका इन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न र सुकाउन भ्याइनभ्याइ छ । पाकेको अलैंची घरमा भित्र्याउनु, छोडाउनु र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम्म अलैंची बिक्री गर्दै आएका छन् । तिहारको बेला ताप्लेजुङका किसानलाई अलैंची घरमा भित्र्याउन चटारो छ । अलैंची पाक्ने याम शुरु भएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेंसीमा लगाइएको अलैंची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैंची भदौदेखि टिप्न थाल्ने बताउँछन् ।

‘बेंसीमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्ने चटारो हुन्छ,’ उनले भने । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि अलैंची खेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिका रुपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैंची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।

‘भूगोल अनुसारको जातको अलैंची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ,’ उनले भने । कम मेहनतले अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैंची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।अलैंचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैंची बिक्रीको आम्दानीले शहर–बजारमा घरजग्गा खरिद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैंची लगाउन थालेका छन् । जिल्लामा करिब चार हजार तीन सय हेक्टरमा अलैंची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>