आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै
तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ ।

२६ असोज, तनहुँ । दशैंको उल्लाससँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका खेतहरू सयपत्री फूलले पहेँलपुर भएका छन् । तीन वर्षअघि सुरु भएको यो व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको नयाँ मार्गमा अगाडि बढ्न प्रेरित गरेको छ ।
सामूहिक रूपमा फूलखेती गरिरहेका महिलाहरू अहिलेसमयका लागि फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि उनीहरूको उत्साह थपिएको छ। आफ्नो श्रमले आम्दानी गर्न पाउँदा महिलाहरूलाई आर्थिक रूपमा सबल बन्ने अवसर प्राप्त भएको छ । महिला समूहकी अध्यक्ष सुन्तली गुरुङ बताउँछिन् कि व्यावसायिक रूपमा अघि बढ्दै गरेका यी महिलाहरूले शनिबारबाट फूल टिप्ने र बिक्री गर्ने काम थालिसकेका छन् । पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावना थप उत्साहजनक भएको उनले जानकारी दिइन् ।
दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गरेपछि फूल टिप्न सुरु गरेका छौँ, गुरुङले भनिन् । सामूहिक उद्यमद्वारा महिलालाई संलग्न गरेर स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्य राखिएको क्रममा यो फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको बताए । सामूहिक खेतीमा श्रम र अनुभव बाँड्नु सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर पनि मिलेको उनले बताइन् ।
गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गरिए महिलाको आय विस्तार गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको छ । फूल प्रतिकिलो रु ४०० सम्म बिक्री भइरहेको छ । आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती चल्दै आएको छ । महिलाहरूको सहभागीता बढाएर उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्ने र आयआर्जनको अवसर सृजना गर्ने कार्य भइरहेको छ ।
यहाँ उत्पादित फूलको बजारमा कुनै समस्या छैन । स्थानीयस्तरमै फूल उत्पादन र बिक्रीको सम्भावना देखिएकाले खेतीलाई थप व्यवस्थित बनाउन सकिने देखिएको छ । महिलाहरूको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर बढ्दै गएको केसीले बताए । -रासस




