कृषि

यसै साता घोषणा, उखुको मूल्य बढ्ने

काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ। उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यसवर्ष उखुको मूल्य बढ्ने र यसैसाता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए। यो वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक रहेको उनको दावी छ। ‘उखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको छ, यो शुक्रबारसम्म मूल्य तय हुन्छ,’ प्रवक्ता सञ्जेलले भने। यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो। प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३०भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ।

देशैभरबाट प्राप्त ३ सय नमूनालाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा बिहीबार थप छलफल गरिने मन्त्रालयले जनाएको छ। गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो। उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो। गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो। यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ।

यो वर्ष उत्पादन लागत निकै बढेको भन्दै महासंघका अध्यक्ष कपिलमणि मैनालीले ६ सय रुपैयाँ भन्दा कम उखुको मूल्य तोकिए किसानले उखु खेतमै आगो लगाउने चेतावनी उनले दिए। ‘सरकारले किसान मार्नेगरी मूल्य नतोकोस् भन्ने हाम्रो माग छ, ६ सय रुपैयाँ भन्दा कम प्रतिक्विन्टल मूल्य तोकियो भने खेतमै आगो लगाउँछौं,’ महासंघका अध्यक्ष मैन्ालीलले भने। उखुको मूल्य निर्धारण सम्बन्धमा बिहीबार मन्त्रालयमा छलफल गर्न बोलाइएको पनि उनले बताए। गत वर्ष सरकारले मंसिर तेस्रो साता उखुको मूल्य तोकेको थियो । चिनी मिलहरुले उखु क्रसिङका लागि यस वर्ष तयारी थाले पनि अझै कृषि मन्त्रालयले मूल्य टुङ्ग्याउन सकेको छैन।

कृषि मन्त्रालयले तय गरेर मूल्य वाणिज्य मन्त्रालयलाई सिफारिस गर्नेछ। वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद् पठाएपछि बल्ल उखुको मूल्य सरकारले घोषणा गर्नेछ। चिनी मिल सञ्चालकहरुको संस्था नेपाल चिनी उत्पादक संघले सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएको छ। यसवर्ष देशभर १० वटा चिनी मिल सञ्चालनमा आउने तयारी पुरा भएको संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए। ‘सरकारले योवर्ष मूल्य निर्धारण गर्न ढिलाइ गरेर स्वदेशी चिनी बजारमा आउन ढिलाइ भएको छ, छिटो मूल्य निर्धारण होस्,’ उपाध्यक्ष अग्रवालले भने। नेपालमा औषत वाषिर्क एक लाख २० हजार मेटि्रकटन चिनी उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>