रौतहट घटना प्रति आपत्ति, प्रेस विज्ञप्ति : जसपा नेपाल

मितिः २०७८/०२/२३
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपालको इतिहासको लामो कालखण्डदेखि शिल्पी (कथित दलित) समुदायहरु हिन्दुधर्ममा आधारित जातीय छुवाछूतको दासत्वपूर्ण जीवन बाध्य छन भने यी समूदायमा ज्ञान, सीप, चेतना, सत्ता, शिक्षा र सम्पत्तिबाट बञ्चित र विमुख गरिँदै नेपाली रैथाने शिल्पीहरू युगौंदेखि आजको दिनसम्म आफ्नै थातथलोमा शोषित र पराजयको दासत्वको जीवन भोगिरहेको तितो यथार्थ सर्वविदितै छ । नेपालको प्रजातान्त्रिक,लोकतान्त्रिक, गणतन्त्रिक आन्दोलनहरुमा यस समुदायले ठूलो त्याग, तपस्या र बलिदान गर्दै आएकाछन् । माओवादी सशस्त्र युद्ध (जनयुद्ध)को बलिदानीपूर्ण युद्ध, ०६२/६३ को जनआन्दोलन, विभिन्न समुदायगत संघर्षको राप र तापले संसद पुर्नस्थापनापछि बनेको अन्तरिम संसदले जातीय भेद्भाव तथा छुवाछूत उन्मुलन गर्ने घोषणा गरेको पनि पन्ध्र बर्ष बितिसकेको छ ।
संबैधानिक रूपमा जातीय भेदभाव तथा छुवाछूत मानवता विरुद्धको कलङ्क हो । यसलाई अन्त्य गर्नुपर्दछ भन्ने कुरा राज्य र नेतृत्वले स्वीकार गरेपनि व्यवहारमा लागू हुन नसक्नु अत्यन्तै दु:खद कुरा हो आजको २१ औं शताब्दीको दोस्रो दशकसम्म आउँदा शिल्पी (कथित दलित) हरूले मानव बन्ने संघर्षमा जीवनको ऊर्जाशिल समय खर्चिनु परिरहेको छ । जातकै आधारमा देशका कैयौं स्थानमा कुटाइपिटाइ र ज्यान समेत गुमाउनु परेको दर्दानक अबस्था छ । मुलुक कोभीड १९ को संक्रमणले आक्रान्त छ यसै अबस्थामा भए पनि १५ औं जातीय विभेद उन्मूलन दिवसका दिनलाई सामाजिक संजाल , भर्चुअल र विभिन्न प्रकारले मनाइरहँदा सोही दिन रौतहट जिल्लाको दुर्गा भगवती गाँँउपालिका, ५ का विकाश पासवानलाई वडा नंं. ४ बस्ने राजदेव गिरी, रन्जन गिरी र लालु सिंहले प्रेमपत्र आदनप्रदान गरेकै आधारमा सार्वजनिक स्थानमा डोरिले बाधेर सख्त घाइते हुनेगरी कुटपिट गरिएको घट्नाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कानुनी राज्यको धज्जी उडाउँदै अमानवीय क्रूर यो घटना आपत्तिजनक छ । यस घट्नामा संलग्न दोषी सबैलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्दछ भन्ने जोडदार माग राख्दछौ । सो घटनाको दोषीलाई पक्राउ गरे तापनि पीडितले न्याय पाउनेमा शंका उब्जिएका छ । किनकी देशमा यस अघि घटेका घट्नाहरुमा पनि दोषी उम्किँदै आएका छन् र आजसम्म यस्तै प्रकारका अन्तर जातीय विवाह, जातीय छुवाछूत बिभेद जस्ता अपराधीक घटनाले घरवारविहिन मात्रै हैन ज्यानै जाने सम्मका उदाहरण ताजै छ्न ।
यसर्थ आगामी दिनमा जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी र समुदायको हक, अधिकार सम्बन्धी संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौताहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन समेत नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
अन्त्यमा व्यवस्थापिका संसदबाट २०६३ साल जेठ २१ गते जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेकै दिनको स्मरणमा १५ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइरहँदा पीडित विकास पासवानलाई सार्वजनिक रुपमा यातना र कुटपिटको घट्नाप्रपति दुख व्यक्त गर्दे पीडकलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरियोस र पीडितलाई न्याय,क्षतिपूर्ति राज्यले यथाशिघ्र प्रदान गरोस भनी जोडदार माग गर्दछौं ।
दलमर्दन कामी
(अध्यक्ष)
डिबी नेपाली सोलु, मुख्यसचिव




