‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार

फिल्म ‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार भएको छ। निर्देशक घनश्याम तिमल्सिना‘एन्टिना’ले फिल्म सम्पूर्ण काम सकाएर प्रदर्शनको लागि तयार रहेको जानकारी दिए।
‘फिल्मको सबै काम सकिएको छ’ निर्देशक घनश्यामले भने,‘प्रदर्शनका लागि वितरकसँगको छलफलमा छौ। छिट्टै रिलिज मिति घोषणा हुनेछ।’ घनश्यामले केही वर्ष अगाडि फिल्म ‘छापामार’ निर्देशन गरेका थिए। प्रेमकथा, एक्सन र सन्देश सबै समेटिएको फिल्म संखुवासभाका विभिन्न रमणीय ठाउँमा छायाङ्कन भएको हो। कल्याण घले, शशी राई, जीवन श्रेष्ठ, प्रेम बस्याल, गीताञ्जली बलायर, किशोर घले लगायतको अभिनय रहेको फिल्म खबर मिडिया ग्रुपले निर्माण गरेको हो।
प्रेम बस्यालको कथा तथा लक्ष्मी शिवाकोटी निर्जलाको पटकथा रहेको फिल्ममा संगीत सुर्य दनुवार राईको छ। सुरज श्रेष्ठको द्वन्द्व, मोहनिश श्रेष्ठको छायाँकन रहेको फिल्म विश्वास भण्डारीले सम्पादन गरेका हुन्।




