राजनीति

एमसीसीको कारण पार्टी छाड्नेहरु, बिजुक्छेकहाँ जानुस् : प्रचण्ड

२९ फागुन, बिराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका छन्। त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ। हामी चाहन्छौं त्यस्तो नहोस्। व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं।’ उनका अनुसार व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै छ। आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने र आवश्यक परे फोरम चलाउन पनि दिने गरी अघि बढेको अध्यक्ष प्रचण्डले बताए।

त्यो बेला फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘राजीनामा दिन्छौं ढक्क हुनुस्।’ एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरुप्रति भने उनले कडा टिप्पणी गरेका छन्। एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौं भन्नेहरु एमालेमा प्रवेश गरेको भन्दै उनले भने, ‘यो भन्दा विचित्र के हुन्छ ? जानु नि बरु किरणजी, विप्लवकहाँ। नभए नारायणमान विजुक्छे कहाँ जानू।’ ‘संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ। त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ।’

हालै माओवादी केन्द्रका कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले एमसीसीलाई कारण देखाउँदै पार्टीबाट अलग हुने घोषणा गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>