राजनीति

पराजित पक्का भए पछि एमालेहरु हिन्दू-मुस्लिमका कुरा उठाउ थाले – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) ले पराजित हुने देखेपछि हिन्दु-मुस्लिमको कुरा उठाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

शनिबार जनकपुर उपमहानगरपालिका-१३ को चुनावी सभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। माओवादी केन्द्रका उम्मेदवारले जित्ने सुनिश्चित भएपछि एकथरि मानिसहरू हिन्दू र मुस्लिमको विवाद जन्माउने दुस्साहस गरिरहेको उनले आरोप लगाए। ‘मैले के सुनेको छु भने यहाँ अहिले तपाईंहरूको जीत सुनिश्चित हुन थालेपछि एकथरि मान्छेहरू हिन्दू र मुस्लिमको विवाद जन्माउने दुस्साहस गर्ने मूर्खता गर्दैछन्,’ उनले भने, ‘खबरदार। तपाईंहरूले तिनीहरूलाई खबरदारी गर्नुपर्छ। सामाजिक सद्भाव, जातीय सद्भाव र एकता खल्बलाउन खोज्ने ती सबै साम्प्रादायिक तत्वहरू हुन्।’

निर्वाचनमा पराजित हुने भएपछि एमाले गुटसँग सम्बन्धित मानिसहरूले त्यो कुरा उठाउने षड्यन्त्र गरेको उनले बताए। ‘मैले सुनेको छु- एमाले गुटसँग सम्बन्धित मान्छेहरू निर्वाचनमा आफू पराजित हुने भएपछि हिन्दू मुस्लिमका कुरा उठाउने षड्यन्त्र गर्दैछन्। सावधान रहन म तपाईंहरूलाई विशेष अपिल गर्न चाहन्छु,’ उनले भने। त्यसैगरी, अहिलेको संविधानले मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिमको पहिचान र अधिकारको लागि केही हदसम्म सम्बोधन गरेको तर त्यसलाई अझै विकसित गर्नुपर्ने उनले बताए। त्यसको सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ।

‘आज यो देशमा मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबैको पहिचान र अधिकार संविधानमा एउटा हदसम्म सम्बोधन भएको छ। तर त्यसलाई अझै विकसित गर्नुपर्ने, अझै परिमार्जन गर्नुपर्ने, अझै संशोधन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
तर आफू प्रधानमन्त्री हुँदा दुई पटक संशोधनको प्रस्ताव संसदमा दर्ता गराए पनि एमालेले त्यसलाई पास गर्न नदिएको उनले आरोप लगाए। ‘तपाईंहरूलाई थाहा छ, माओवादी केन्द्र अध्यक्षको हैसियतले दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले संविधान संशोधनको प्रस्ताव दुई पटक संसदमा दर्ता गराएँ।

तर एमाले गुटको कारण त्यसलाई पास गर्न दिइएन,’ उनले भने, ‘त्यसकारण एमाले गुट मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम यी सबैको हक अधिकारको विरोधी पार्टीको रूपमा स्थापित भएको छ। अहिले त्यही पार्टीले फेरि जनतालाई भ्रम दिने षड्यन्त्र गर्दैछ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>