विकासमा गरिने राजनीति अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

२ फागुन, काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छिन्।
सोमवार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन्। उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन्। उनले विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने बताइन्।
‘विकास र आयोजनासँग राजनीति प्रत्यक्ष रुपले व्यक्ति आफ्नो हिरोइजमका लागि जोडिने परिपाटी अन्त्य नगर्दासम्म, प्राथमिकतामा आयोजनाहरु नबनाउँदासम्म, असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटीमा हामीले केही न केही कमिटमेन्ट नगरेसम्म यस्तै गिजोलिने राजनीति र हरेक पटक एउटा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्था हुँदासम्म हामी सही बाटो हिडेको हुँदैन।’ उनले भनिन्, ‘चाहे संघीयता ल्याउँ, चाहे वित्तिय हस्तान्तरण गरौँ। चाहे सरकार दिउँ., चाहे हरेक कुरा गरौँ। यो हुनसक्ने काम हुँदै होइन।’




