राजकुमार सुब्बा
काठ्माण्डौ, २० साउन
‘फेमिली केयर फर्स्ट’ नाराका साथ केएफटी -नेपालले नेपाली बालबालिकाहरुको परिवारमा नै हुर्कन पाउने अधिकारलाई कानूनी र ब्यवहारिक रुपमा सुनिश्चित गराउन राज्य र सम्बन्धित निकायहरुसङ्ग मिलेर केहि बर्षदेखी निरन्तर अभियान चलाईरहेको छ।
केएफटी नेपाल (Keeping Family Together Nepal) बालबालिकाहरुको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था हो। यसका राष्ट्रिय संयोजक श्री भविन्द्र राई हुनुहुन्छ। संस्था स्थपनाको उदेश्य बारे अन्तर्राष्ट्रिय कानूनको प्रसङ्ग उदृत गर्दै उहा भन्नुहुन्छ,“नेपाल संयुक्त राष्ट्रसंघ बालअधिकार महासन्धि -१९८९ को हस्ताक्षर राष्ट्र हो। नेपालले सोही बमोजिम कानून निर्माण गर्नुपर्ने हुन्छ। यस महासन्धिमा विशेष गरी बालबालिकाहरुको सम्बन्धमा ४ वटा पक्षहरुलाई जोड दिईएको छ । यसमा १) बालबालिकाहरुलाई विभेद नगर्नु २) बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिने, ३ ) बालबालिकाको सर्वागीण विकास , ४) बालबालिकाको जीविका र सहभागिता ।”
यस महासन्धी-१९८९ ले बालबालिकाहरुको अधिकारको लागी एउटा सुन्दर परिकल्पना गरेको छ कि, परिवार नै एउटा मौलिक निकाय र संस्था हो, जहा बालबालिकाहरुले हुर्कन र शिक्षा -दिक्षा पाउनु पर्दछ र परिवारमा मात्रै उनीहरुको सुरक्षा र सर्वाङ्गीण विकास हुन सक्दछ। यो परिकल्पनालाई अबलम्बन गर्दै नेपालको नयाँ संविधान २०७२ ले पनि बालबालिकाहरुको मौलिक हक-हित अन्तर्गत उनीहरुको संरक्षणलाई बढी महत्व दिएको छ। यसै सन्दर्भमा संस्थाको उदेश्य बारे उहा अझ अघाडी भन्नुहुन्छ, “यी अन्तरास्ट्रिय र राष्ट्रिय कानून अनुसार नेपाली बालबालिकाहरु परिवारमा नै हुर्कन पाउनु पर्छ भन्ने उनीहरुको मौलिक हक-अधिकारलाई ब्यहारमा ल्याउन पहल गर्नु नै केएफटी नेपालको मूल उदेश्य हो।”
परिवारमा हुर्केका र अन्य ठाउँहरुमा हुर्केका बालबालिकाहरु बीच ठुलो भिन्नता रहेको पाइन्छ। परिवारमा हुर्केका बालबालिकाहरु नै परिवार र समाजका असल सदय र राष्ट्रको असल नागरिक हुन सक्दछन। परिवारभन्दा बाहेकका ठाउहरुमा हुर्केका बालबालिकाहरुमा सामाजिक संस्कार , सामाजिक उत्तरदायित्व, र सामाजिक अन्तरसम्बन्धमा समस्या भएका तथ्यहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्रोतहरुले बताईरहेको उहाँको भनाई छ।
यसैकारण बालबालिकाहरुले परिवारमा नै हुर्कन ,पढ्न र सुरक्षा पाउनुपर्छ भन्ने अन्तरास्ट्रिय कानूनहरुलाई नेपालको ऐन-कानूनले पनि आत्मासाथ गरेको पाईन्छ। नेपालको संविधान बालबालिका सम्बन्धी ऐन -२०७५ ले उनीहरुको संरक्षण , विकास, सहभागिता र बाच्न पाउने अधिकारहरु प्रष्ट रुपमा लिपीबद्ध गरेको छ। केएफटी नेपाल , बालबालिकाहरु हुर्कने सर्वोत्तम वातावरण परिवार नै हो भन्ने यी कानूनी अधिकार र परिकल्पनालाई ब्यवहारमा लागू गराउन अबिरल प्रयत्नरत छ।
भुकम्प, बाढी-पहिरो, दैवी प्रकोप र विभिन्न प्राकृतिक प्रकोपको कारण बालबालिकाहरु घर-वार विहीन भएका छन। संयोजक श्री राईको अनुसार यी बाहेक आमा-बाबु नहुनु , र आमा -बाबुको सम्बन्ध विच्छेद हुनु जस्ता पारिवारिक विखण्डनको गम्भिर कारणहरुले पनि उनीहरु घर-बार विहीन र अनाथ हुन पुगेका छन। उहा बताउनुहुन्छ, “राष्ट्रिय बाल परिषद २०७६ को तथ्यांक अनुसार , सरकारमा दर्ता भएका ५३३ बालगृहहरुमा १५ हजार भन्दा धेरै बालबालिकाहरुले आश्रय पाईरहेका छन। यसबाहेकका अन्य धेरै बालबालिकाहरु विभिन्न किसिमका बालश्रमहरुमा रहेका छन, जसको अवस्था र संख्या बारे कुनै सही तथ्यांक कसैसङ्ग छैन।”
यसकारण संयुक्त राष्ट्रसंघ बाल अधिकार महासन्धि र नेपालको कानून अनुसार यी बालबालिकाहरुको समग्र रुपमा संरक्षण हुन आवश्यक छ। यी कानूनहरुलाई ब्यबहारिक रुपमा कार्यान्वयन गराउन ’ फेमिली केयर फर्स्ट ’ को मूल नारा सहित सन २०१८ देखि केएफटी नेपालले अभियान सन्चालन गरिरहेको छ। यस संस्थाले बालबालिकाहरुलाई परिवारमा हुर्काउने , पोषण गर्ने साथै परिवार र समाजमा नै उनीहरूलाई अभ्यस्त गराउन अभिप्रेरित गर्दछ। यसरी यो संस्थाले उनीहरुलाई समाजको असल ब्यक्ति र राष्ट्रको असल नागरिक बनाउन राज्य, विभिन्न संघ-संस्थाहरु र यससङ्ग आबद्ध ब्यक्तिहरुलाई हातेमालो गर्दै अभियान सन्चालन गरिरहेको छ । यसका साथैे विभिन्न कार्यक्रमहरु पनि सन्चालन गरिरहेको छ। यसै क्रममा कोरोना भाईरस कोभिड -१९ को महामारीको समयमा उपत्यकाका ५० भन्दा बढी बिभिन्न बालगृहहरुमा स्वास्थ्य सामाग्रीहरु वितरण गरिसकेको छ। र अझै अरु पनि वितरण गर्ने तयारी गरिरहेको छ। स्वास्थ्य सामाग्री वितरण गर्ने शिलशिलामा ती बालगृहहरुमा बालबालिकाहरुको हेरचाह, पोषण र शिक्षा कसरी भैरहेको छ भनेर बुझ्ने क्रम पनि गरिरहेको छ। यसको अलावा बालगृह महासङ्घ र बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ-संस्थाहरुसङ्ग मिलेर परिवारमा उनीहरुलाई हुर्काउने तालिम प्यारेन्टिङ एजुकेशनको कार्यक्रम चलाईरहेको छ।
बालबालिकाहरु विविध कारणले बाबु-आमाबाट टाढिएमा वा अनाथ भएमा उनीहरुको बैकल्पिक स्याहारको लागी कानूनहरु पनि निर्माण भएका छन। यस कानूनी प्रावधानलाई संयोजक श्री राई यसरी ब्याख्या गर्नुहुछ, “अनाथ बालबालिका सम्बन्धि कानून २०७५ अनुसार बैकल्पिक बालबालिका स्याहारको सन्दर्भमा ४ वटा बिकल्पहरु उल्लेख गरिएको छ। पहिलो, उनीहरुलाई बाबु वा आमाको नजीकको परिवारमा हुर्काउने वातावरण मिलाउने। यस्तो अवस्था नभए , दोस्रोमा, कुनै ब्यक्ति वा परिवारमा हुर्काउने वातावरण मिलाउने। यदि यस्तो वातावरण पनि नभए , तेस्रो बिकल्पमा, कुनै पारिवारिक वातावतण भएको संस्थामा हुर्काउनु पर्नेछ। यो बिकल्प पनि सम्भव नभए मात्र अन्तिम चौथो विकल्पको रुपमा बालगृहमा हुर्काउन सकिन्छ।”
बालबालिकाहरु परिवारमा नै हुर्कन पाउनुपर्छ भन्ने कुरा नेपालको कानूनहरुमा स्पस्ट लेखिएकोछ। यसै अनुरुप केएफटी नेपालले आफ्नो अभियानलाई ससक्त बनाईरहेको छ। अफ्नो अभियान र आगामी कार्यक्रमहरु बारे श्री राई भन्नुहुन्छ,”नेपालका बालगृह महासङ्घ र बालबालिकाको क्षेत्रमा काम गरिरहेका संघ -संस्था हरुसङ्ग हातेमालो गर्दै बृहत्तर रुपमा यो विषयलाई हामीले उठाईरहेका छौं । ऐन आइसकेको छ, अब आउने नियमावलीहरु बालबालिकाहरु परिवारमा हुर्काउने वातावरण बनाउने खालको हुनुपर्छ भन्ने कुरामा नै हामी आवाज उठाईरहेका छौं र अझ बुलन्द रुपमा उठाउनेछौ। यो विषयलाई अब आउने नियमावलीहरुमा विषेश रुपमा सम्बोधन हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग छ।”
केएफटी नेपालले बालबालिकाहरुको परिवारमा हुर्कन पाउने हक-अधिकारलाई कानूनी र ब्यवहारिक रुपमा सुनिश्चित गराउन राज्य र सरोकारवालाहरु सबै सामु जोड्दार आवाज उठाइरहेकोछ र माग पनि गरिरहेकोछ। यस सम्बन्धमा उहाँ भन्नुहुन्छ, “हामीले विभिन्न तह र तप्काहरुमा बहसहरु गरिरहेका छौ । राज्य , सम्बन्धित निकाय र सरोकारवाला सबैको सामू आवाजहरु उठाईरहेका छौं ।अब अझै शसक्त रुपमा बहसहरु छेडिनु आवश्यक छ, ताकि उनीहरुलाई परिवारमा हुर्कन पाउने वातावरण मिलोस ! तब नै असल ब्यक्ति र असल समाज हुदै समृद्ध राष्ट्र निर्माणको सुन्दर परिकल्पना पुरा हुनेछ ।”
(संयोजक श्री भविन्द्र राई अधिवक्ता हुनुहुन्छ र उहाँ विगत लामो समयदेखि बाल संरक्षण , बाल अधिकार र बाल हक -हितको पक्षमा सकृय हुनुहुन्छ।)